संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति : राष्ट्रपति
‘कम्प्युटर र ए आईको प्रयोगमा आएको संस्कृतको भविष्य सुन्दर रहेको देखिन्छ। आजको अशान्त विश्वसमाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ,’ राष्ट्रपति पौडेलले भने।
काठमाडौं, असार १२ : राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताएका छन्।
विहीबार विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त भनाई राखेका हुन्। संस्कृत भाषा, साहित्य र संस्कृतिको दक्षिण एशियामा नै गहिरो प्रभाव पर्दै आइरहेको अवस्थामा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको भनाई राष्ट्रपति पौडेलको छ।
‘कम्प्युटर र ए आईको प्रयोगमा आएको संस्कृतको भविष्य सुन्दर रहेको देखिन्छ। आजको अशान्त विश्वसमाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ,’ राष्ट्रपति पौडेलले भने।
संस्कृत सम्मेलनले युद्धको विभीषिका र सन्त्रासमा उल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश फैलाउँदै धर्ती, मानव र मानवसभ्यताको संरक्षण र विकास, सुख र सन्तोष युद्धबाट होइन शान्ति, करुणा र मैत्रीबाट मात्र सम्भव छ भन्ने सन्देश दिनुपर्ने भनाई पौडेलको छ।
विकास चरम अवस्थामा पुगेपछि एकाधिकारले ठाउँ लिन्छ भन्ने अर्थशास्त्रको कुरा जस्तै संस्कृत भाषाको चरम विकास भएको बेला ठालुहरूले दलित वा अन्य जो कोहीले बोल्न र पढ्न हुन्न भन्दा जनबोलीको भाषा हुन नसकेको राष्ट्रपति पौडेलले भने। संस्कृतलाई जनबोलीको भाषा बनाउनुपर्ने आवश्यकता पनि उनले औंल्याए।
प्राचीन कालदेखि नै नेपाल ऋषि महर्षिको जन्मभूमि, तपोभूमि, यज्ञभूमि, साधना भूमि रहँदै आएको बताउँदै महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्लयजुर्वेदका मन्त्रहरूको दर्शन पाएको, वाल्मीकिको पूर्वजीवन र वेदव्यासको जन्म पनि यसै भूमिमा भएको समेत राष्ट्रपति पौडेलले बताए।
राजर्षि जनक, शान्ति सन्देशका नायक बुद्ध, पाणिनि र बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको चर्चा समेत पौडेलले गरे।
‘नेपाल एउटा प्राचीन राष्ट्र हो, जसको इतिहास दुई हजार २५ सय वर्षदेखि निरन्तर रहँदै आएको छ । नेपाल शब्दको प्रयोग अथर्ववेदमा नै भएकाले र पौराणिक, तान्त्रिक, स्मृतिग्रन्थ, आयुर्वेद, कौटिल्यको अर्थशास्त्र आदि प्राचीन लाखौँ ग्रन्थमा नेपालका विषयमा अनेक प्रसङ्ग आएकाले यसको प्रचीनता, सनातन वैदिक परम्परा निष्ठता, शान्तिप्रियता, सहिष्णुता, समन्वयमूलकता यस देशको स्वभाव रहँदै आएको बोध हुन्छ,’ राष्ट्रपति पौडेलले भने।