भुल्केमा थप ३३५ जनाको स्वाब नमूना संकलन
उदयपुर, वैशाख २५ : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विरा....

उदयपुर, वैशाख २५ : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाइएको छ।
भुल्केका कोरोना संक्रमणस्थल ५५ घर मुस्लिम समुदायका सबै परिवारसहित अन्य केही स्थानीयको पनि स्वाब संकलन गरेर परीक्षणका लागि धरान र विराटनगर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए।
भुल्केमा पहिलो चरणको स्वाब परीक्षणमा १२ भारतीय नागरिकसहित १६ जना स्थानीय मुस्लिम परिवार गरेर २८ जनामा कोरोना संक्रमण देखिएपछि पछिल्लो अवस्थाबारे अध्ययन गर्न पटक पटक कोरोनासम्बन्धी स्वाब संकलन र परीक्षण गरिँदै आएको छ। पहिलो चरणको स्वाब संकलन र परीक्षणमा २८ जनामा कोरोना देखिए पनि त्यसपछि पटक पटक गरेर तीनपटक परीक्षण गरिएको र पछिल्लो चरणका परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।
भुल्केमा कोरोना संक्रमित २८ जना सबैको कोरोना अस्पताल विराटनगरमा उपचार भइरहेको छ। तीमध्ये ६ जना भारतीय मुस्लिम नागरिकको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।












