रविलाई भैरहवाबाट डिल्लिबजार सदर खोरमा ल्याउने तयारी

काठमाडौं, जेठ २० : सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइने भएको छ।
रुपन्देही कारागारबाट सरुवा गरेर डिल्लीबजार कारागार, काठमाडौं ल्याउने तयारी भएको हो। लामिछानेको काठमाडौं सरुवा हुने चाहना अनुसार डिल्लीबजारस्थित सदर खोर (कारागार) ल्याउने तयारी भएको छ।
लामिछानेले पार्टीका नेताहरु र परिवारसँग भेटघाट गर्न अफ्ठ्यारो हुने भएपछि कारागार सरुवाको चाहना राखेको जनाइएको छ। थुनामा रहेका लामिछानेले सरुवाका लागि जिल्ला अदालत, रुपन्देहीबाट समेत अनुमति लिइसकेका छन्।
यस्तै, जिल्ला प्रशासन कार्यालयको समेत अनुमती लिइसकिएको छ। सबै प्रक्रिया सकिएर निर्णयका लागि कारागार व्यवस्थापन विभागमा पठाइएका कारण निर्णय भएलगत्तै लामिछानेलाई डिल्लीबजार कारागार ल्याइने भएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा लामिछानेलाई उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले २२ चैत २०८१ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
जिल्ला अदालत बुटबलबाट एक करोड रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश बदर भएपछि लामिछाने पक्राउ परेका थिए।