पठाओले भन्यो-अफलाइन राइडदेखि होसियार, धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह
कम्पनीले यात्रुहरुलाई परेको असहज परिस्थितीमा सहजीकरण गर्न पठाओले राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको बताइएको छ ।
काठमाडौं, जेठ १९ : आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको समाचारहरु आइरहेको बेला नेपालको लोकप्रिय राइड सेयरिङ कम्पनी पठाओ नेपालले पठाओ मोबाइल एपमा नियमित शुल्क बाहेक कुनै पनि वृद्धि नभएको बताएको छ ।
कम्पनीले यात्रुहरुलाई परेको असहज परिस्थितीमा सहजीकरण गर्न पठाओले राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको बताइएको छ ।
पठाओले आफ्नो सामाजिक सन्जालमार्फत यो जानकारी गराएको हो । साथै पठाओले सुरक्षित र सुनिश्चित राइडका आगि अफलाइन यात्रा नगर्न यात्रुहरुलाई अनुरोध गरेको छ ।
अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ । अफलाइन यात्रा गर्दा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन पठाओले अनुरोध गरेको छ ।
साथै पठाओले केही समस्या पर्दा २४ सै घण्टा पठाइओको कल सेन्टरको नम्बर ०१-५९७००९९ मा सम्पर्क गरि पठाओ राइडसम्बन्धी गुनासो र उजुरी गर्न सक्ने बताएको छ ।
यता, यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन् । पठाओ र इनड्राइभ राइडरहरुले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो आएपछि प्रहरीले त्यसबारे उजुरी गर्न आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै राइडरहरुलाई धेरै भाडा नलिन आग्रह गरेको छ । धेरै भाडा लिएको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ ।