नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, नृत्य, र संस्कार हामी सबैको परिचय हुन् : अध्यक्ष दाहाल
अध्यक्ष दाहालले कार्यक्रम व्यवस्थापन संघ नेपालले गर्ने हरेक कार्यक्रमहरुले नेपाल बाहिर पनि सांस्कृतिक कार्यक्रमहरु कुटनीतिक रुपमा स्थापित भइरहेको बताए।
काठमाडौं, जेठ १७ : राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार नेपाली सबैको परिचय र मेरुदण्ड भएको बताएका छन्।
कार्यक्रम व्यवस्थापन संघ नेपालको ५ औँ वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा बोल्दै उनले नेपाल विविध कला, संस्कृति र लोकपरम्पराको लागि निकै धनी राष्ट्र भएको बताए।
‘कार्यक्रम व्यवस्थापन संघ नेपालले कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको छ। कुनै पनि कार्यक्रम व्यवस्थापन गर्दा कार्यक्रमको समारोहको चरित्रसँग मिल्नेगरि नेपाली कला, साहित्य, संस्कृति र पर्यटनलाई टेवा पुग्ने गरि कार्यक्रम स्थललाई सघाउनु भयो भने हाम्रो नेपालको परम्परागत संस्कृति र कलाको पनि प्रचार हुनेछ। र पर्यटनमा पनि आकर्षण बढ्ने छ,’ उनले भने, ‘नेपाल विविध कला, संस्कृति र लोकपरम्पराको लागि निकै धनी राष्ट्र हो। नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार हाम्रो परिचय र मेरुदण्ड हुन्।’
अध्यक्ष दाहालले कार्यक्रम व्यवस्थापन संघ नेपालले गर्ने हरेक कार्यक्रमहरुले नेपाल बाहिर पनि सांस्कृतिक कार्यक्रमहरु कुटनीतिक रुपमा स्थापित भइरहेको बताए। उनले हरेक कार्यक्रमहरुले आन्तरिक पर्यटनहरुको प्रवद्र्धन र सामाजिक सांस्कृतिक जागरणमा समेत सकारात्मक प्रभाव पारिरहेको समेत बताए।
‘कार्यक्रम व्यवस्थापन संघ नेपालले गर्ने हरेक कार्यक्रमहरुले नेपाल बाहिर पनि सांस्कृतिक कार्यक्रमहरु कुटनीतिक रुपमा स्थापित भइरहेका छन्। जसले हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘यस्ता कार्यक्रमहरुले आन्तरिक पर्यटनहरुको प्रवद्र्धन र सामाजिक सांस्कृतिक जागरणमा समेत सकारात्मक प्रभाव पारिरहेका हुन्छन्।’