राजावादीको प्रदर्शन शान्तिपूर्ण, घुसपैठको आरोपमा पक्राउ परेका छुटे
राजसंस्था पुनस्र्थापनाको माग गर्दै राप्रपासहित संयुक्त जनआन्दोलन समिति र सत्ताघटक नेकपा एमालेले गणतन्त्र दिवसको उपलक्ष्यमा एकै स्थान रत्नपार्कमा प्रदर्शन गरेका थिए।-(3)-1748525142.jpg)
काठमाडौं, जेठ १५ : गणतन्त्र दिवसका दिन राजावादीले गरेको प्रदर्शन शान्तिपूर्ण भएको छ।
राजसंस्था पुनस्र्थापनको माग गर्दै विहीबार अपरान्ह राजावादी राजधानीका सडकमा उत्रिएका थिए। राजसंस्था पुनस्र्थापनाको माग गर्दै राप्रपासहित संयुक्त जनआन्दोलन समिति र सत्ताघटक नेकपा एमालेले गणतन्त्र दिवसको उपलक्ष्यमा एकै स्थान रत्नपार्कमा प्रदर्शन गरेका थिए।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा ३५ सयको संख्यामा राजावादी सहभागी भएका थिए। यद्यपी आयोजकले भने दशौँ हजारको संख्यामा प्रदर्शन भएको दाबी गरेका छन्।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक एवम् अराजक बनेको थियो। प्रदर्शनका क्रममा पत्रकारसहित दुईजनाले ज्यान गुमाएका थिए। त्यसदिन दुर्गा प्रसाईंको नेतृत्वमा आगजनी र तोडफोड गरिएको थियो।
राजसंस्था पुनस्र्थापनाका निम्ति गठित ‘संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन, सचेतक ज्ञानेन्द्र शाही, राप्रपा नेपालका अध्यक्ष कमल थापा, लगायत राजावादी प्रदर्शनमा सहभागी भए।
यसैविच, काठमाडौंमा भएको प्रदर्शनबाट पाँच जनालाई नियन्त्रणमा लिएर छाडिएको प्रहरीले जनाएको छ । प्रदर्शनको क्रममा घुसपैठ गरेको आरोपमा प्रहरीले दिउँसो पाँच जनालाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएकामध्ये दुई जनालाई विद्युत प्राधिकरण अगाडि, एक जनालाई शान्तिबाटिका र दुई जनालाई भोटाहिटीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तीन जनालाई भने ‘संयुक्त जनआन्दोलन समिति’का तर्फबाट प्रदर्शन गर्ने कार्यकर्ताहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बेलुका पाँचै जनालाई छाडेको छ।
