गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका लागि मात्रै आयो : झलनाथ खनाल
उनले एउटालाई मात्र बलिको बोको बनाएर अन्यलाई चोख्याउन खोजेको आरोप लगाए।-1748511030.jpg)
काठमाडौं, जेठ १५ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र केही मुठ्ठिभरका विचौलियाका निम्ति मात्रै भएको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले देशको गणतन्त्र आम जनताको लागि नभइ शोषकहरुको गणतन्त्र बनिरहेको बताएका हुन्।
‘यो गणतन्त्र केहीमुठ्ठि भरका विचौलियाको निम्ति थिएन। यो गणतन्त्र मुठ्ठिभरका दलाल पूँजीपति वर्गको निम्ति मात्रै स्थापना गरिएको होइन। यो गणतन्त्र विभिन्न किसिमका भ्रष्ट तत्वहरुको हितका निम्ती स्थापित गरिएको थिएन,’ उनले भने, ‘अहिले देशको गणतन्त्र आम जनताको लागि छैन। अहिले मुठ्ठिवादी दलालपूँजीपतिको लागि मात्रै गणतन्त्र बनिराखेको छ। देशका शोषकहरुको गणतन्त्र बनिरहेको छ। जनताको गणतन्त्र बन्न सकिरहेको छैन।’
नेता खनालले उनले भिजिट भिसा प्रकरणमा धेरैको योजनासाथ धन्दा चलिरहेको बताए। उनले एउटालाई मात्र बलिको बोको बनाएर अन्यलाई चोख्याउन खोजेको आरोप लगाए।
‘अहिले एयरपोर्टको धन्दा कस्ता कस्ता हुने रहेछन् तपाईँहरूले देखिराख्नुभएको छ। धेरैको योजनाका साथमा धन्दा चलिरहेको छ,’ उनले भने, ‘एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दै छन्।’
खनालले अहिलेको गठबन्धन सरकार संविधान विरोधी भएकाले गणतन्त्र सुदृढ गर्न नसक्ने जिकिर गरे ।