प्रधानमन्त्री र मन्त्रीको निकट भएकाहरूले नियुक्ती पाउनु अनौठो होइन : बार अध्यक्ष मिश्र
उनले सरकारको नजिक रहेकाले वहालवाला पदाधिकारीहरु अवकासको समयमा पनि नियुक्त गरिने बताए।-(26)-1748261643.jpg)
काठमाडौं, जेठ १२ : नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा.विजयप्रसाद मिश्रले वहालवाला मन्त्रालयका पदाधिकारीहरु मन्त्री तथा प्रधानमन्त्रीको निकट हुने भएकाले अवकासको समयमा नियुक्त हुने गरेको बताएका छन्।
सोमबार ‘प्रशासनिक संघीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरु’ विषयक कार्यक्रममा बोल्दै उनले सरकारको नजिक रहेकाले वहालवाला पदाधिकारीहरु अवकासको समयमा पनि नियुक्त गरिने बताए।
‘हामीले देखेको वाहालवाला मन्त्रालयका पदाधिकारीहरु, मन्त्री, प्रधानमन्त्री, सरकार समक्ष निकट हुन्छन्। त्यसैले उहाँहरुले आफ्ना कुरा सिधै पुर्याउन सक्नुहुन्छ। आफ्नो काम गरेर नीति निर्माता, राजनीतिज्ञहरुको मनमा बस्न सक्नुभएको छ, अध्यक्ष मिश्रले भने, ‘मनमा बसेपछि केही श्रेयभावले पनि उहाँहरुलाई नियुक्त गरौं तुरुन्तै भन्ने विचारधारा निर्माण हुनसक्छ। त्यसले गर्दा पनि अवकासको समयमा पनि नियुक्त गर्ने देखिन्छ।’
उनले पूर्व प्रशासकहरुको संलग्नतामा नीति निर्माण, प्रतिष्ठान गठन गरी अनुगमनका कामहरु गर्नुपर्ने बताए।
यस्तै, कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले कुलिङ पिरियड नराख्ने भन्ने कुनै धारणा कसैको नभएको बताए। ‘कसैको पनि कुलिङ पिरियड नराख्ने भन्ने धारणा छैन। अहिले पनि सुशासन ऐनमा स्वार्थको द्धन्द्ध भएको अवस्थामा एक वर्षसम्म पाइँदैन भनेर दफा १८ मा उल्लेख छ । तर त्यो कार्यान्वयन भएको छैन,’ उनले भने।












