Kathmandu Press

नो लाइट शाखाको निरीक्षण पछि मन्त्री खड्काले भने- लोडसेडिङ हुँदैन, हुन दिइँदैन

हाल देशमा उत्पादन भइरहेको विद्युतले माग पूरा गर्न पर्याप्त रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुँदैन, हुन नदिइने बताए।
नो लाइट शाखाको निरीक्षण पछि मन्त्री खड्काले भने- लोडसेडिङ हुँदैन, हुन दिइँदैन

काठमाडौं, जेठ १२ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आइतबार साँझ कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखामा स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्थासम्बन्धी जानकारी लिएका छन्। 

नो–लाइट शाखा अन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि मन्त्री खड्काले पत्रकारहरूसँग कुरा गर्दै केही महत्वपूर्ण निर्देशन र स्पष्टीकरण दिएका छन्। 

Hardik ivf

हाल देशमा उत्पादन भइरहेको विद्युतले माग पूरा गर्न पर्याप्त रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुँदैन, हुन नदिइने बताए। उनले केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेको भन्दै त्यस्ता भ्रमको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध समेत गरे। 

‘विगतका वर्षहरूमा अहिलेभन्दा बढी समस्या देखिन्थ्यो, अहिलेको अवस्था तुलनात्मक रूपमा सहज छ,’ उनले भने, ‘कतै असामान्य मौसम, हावा हुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको छ। अब ढुक्क हुनुस्, सबै कर्मचारी र निकाय जिम्मेवार भएर काम गरिरहेका छन्।’

स्थलगत निरीक्षणकै क्रममा मन्त्री खड्काले स्युचाटारस्थित एल.डि.सी (लोड डिस्प्याच सेन्टर)को समेत आकस्मिक अवलोकन गरेका छन्। 

उनले एल.डि.सी मार्फत मुलुकभरको विद्युत प्रवाह अवस्था नियाल्दै, प्रविधि र कर्मचारी व्यवस्थापनको स्थितिबारे प्रत्यक्ष जानकारी लिएका छन्। 

निरीक्षण टोलीमा ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित अन्य प्राविधिक अधिकारीहरूको उपस्थिति रहेको थियो। 
 

प्रकाशित मिति: ११:१३ बजे, सोमबार, जेठ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्