आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मजदुरहरुको हड्ताल
काठमाडौं, फागुन २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाई मजदुरहरुले आज बुधबारदेखि काम नगर्ने भएका छन् ।
मजदुर संग....
काठमाडौं, फागुन २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाई मजदुरहरुले आज बुधबारदेखि काम नगर्ने भएका छन् ।
मजदुर संगठनहरुले बुधवार विहान ८ बजेदेखि विमानस्थल सरसफाईको काम ठप्प पार्ने घाेषणा गरेका छन् । आन्दोलनले विमानस्थलको अन्य काम समेत प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरण अन्तर्गत आउट सोर्सिङ गरिएको कम्पनी इन्नोभेटिभ एच आर सोलोसन अन्तर्गतका श्रमिकहरुले तलब र भत्ता नपाएको भन्दै विमानस्थलको काम ठप्प पार्ने भएका हुन् ।
मजदुरको आन्दोलनले भोलिदेखि विमानस्थलको सरसफाई र फोहोर नउठ्ने भएको छ ।
सरकारले बुटिक विमानस्थलको रुपमा विकास गर्ने भन्दै सरसफाईमा मुख्य ध्यान दिने बताइरहेको बेला मजदुरहरुले भने काम नै ठप्प हुने गरी आन्दोलन घोषणा गरेका छन् ।
सत्तारुढ नेकपा निकट मजदुर संगठनले नै विमानस्थलको काममा अवरोध गर्ने भएको हो ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरण र आउट सोर्सिङ कम्पनीमा २ सय भन्दा बढी मजदुर कार्यरत छन् । मजदुर संगठनहरुले आफूहरुको आन्दोलनले विमानस्थलमा आउने समस्याको जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणले लिनुपर्ने जनाएका छन् ।
‘तलब, भत्तादेखि नियमित पाउने पोशाक भत्ता नदिएको र अन्य माग समेत सुनुवाई नभएकोले काम ठप्प पार्न बाध्य भएका छौँ,’ ट्रेकिङ, ट्राभल,र्याफ्टिङ एन्ड एयरलाइन्स (युनिट्राभ) का महासचिव सुमन पराजुलीले भने ।
पराजुलीले विमानस्थलमा सरसफाइका कुनै पनि काम भोलिदेखि माग पूरा नगरेसम्म नहुने बताए ।
विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान अवतरण दैनिक ३ सय भन्दा बढी हुने गरेको छ । एक घन्टामा २ हजार ३ सय भन्दा बढी यात्रुको ह्यान्डलिङ गरिहेको विमानस्थलमा सरसफाइको काम ठप्प भए दुई तीन घन्टामै विमानस्थल फोहोरले भरिने छ । जबकि पछिल्लो समय २१ घन्टा विमानस्थलको सरसफाइको काम भइरहेको छ ।