गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय
उनले पार्टीका तर्फबाट मात्रै नभइ, स्थानीय तहका पालिकाहरूका तर्फबाट पनि गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने बताए।-(12)-1748184197.jpg)
काठमाडौं, जेठ ११ : नेकपा एमालेको ५२औं सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए।
‘आजको बैठक समसामयिक विषयमा केन्द्रित थियो। बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ। यस अवसरमा जनसमुदायलाई पनि गणतन्त्र दिवस उत्साहपूर्वक मनाउन आह्वान गरिएको छ,’ बैठकपछि महासचिव शंकर पोखरेलले भने।
उनले पार्टीका तर्फबाट मात्रै नभइ, स्थानीय तहका पालिकाहरूका तर्फबाट पनि गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने बताए। पालिका स्तरमै विविध सांस्कृतिक तथा राजनीतिक कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको पोखरेलले बताए।
एमालेले गणतन्त्र दिवसलाई जनस्तरमा अझ व्यापक बनाउने उद्देश्यले स्थानीय तहका कार्यकर्ताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन समेत दिएको छ।
