एमालेलाई स्पष्ट बहुमतमा ल्याउने गरी मिसन २०८४ मा जुट्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह
अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न आग्रह गरे।-(17)-1748174998.jpeg)
ललितपुर, जेठ ११ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्र्नुपर्ने बताएका छन्।
नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न आग्रह गरे।
‘तपाईंहरु पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो। निर्वाचन जितेपछि चङ्गाको धागो काटिए जस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन। मैले जितेँ, मलाई अरु मतलब छैन भन्न मिल्दैन। अर्को निर्वाचन पनि आउँछ, त्यसकारण तपाईँहरुले अहिले पार्टीका नीति, निर्देशनहरुलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो पार्टी वास्तविक जनतन्त्रका लागि बनेको हो। देशको स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा दृढ भएर लाग्ने पार्टी हो। एमाले देशको नायक पार्टी हो। तथाकथित वामपन्थीहरु एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्न नभेटिने बनाउँछु भनेर अनेक षड्यन्त्रमा उत्रिए तर हामीले ती षड्यन्त्रहरु चकनाचुर बनाएर अगाडि बढेका छौँ।’
प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर पार्टी एकता गरे पछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको टिप्पणी गर्दै देशलाई बनाउन नदिने देशी विदेशीहरुको एमालेमाथिको आक्रमण देशकै विरुद्धको आक्रमण भएको बताए।
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरु सलबलाउँदा एमालेहरुको मनोबल गिर्न नहुने उल्लेख गर्दै उनाँले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरुले फैलाउने भ्रम चिर्न उनले आग्रह गरे। अध्यक्ष ओलीले प्रतिगामीहरुले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिए।
अहिले भ्रष्टाचारीहरु र सहकारी पीडितले उल्टै भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय देजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रले २०६४ सालमा आफ्ना लडाकू क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले त्यसबेला आफूहरु पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको स्पष्ट गरे।