गृहमन्त्रीबारे छलफल गर्न सभापति देउवाले डाके पदाधिकारी बैठक
बैठकमा ‘भिजिट भिसा’ प्रकरणमा विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकका बिषयमा समेत के गर्ने भनेर छलफल हुने जनाइएको छ।
काठमाडौं, जेठ ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी बैठक डाकेका छन्।
बिहान ९ बजे बुढानीलकण्ठ निवासमा बैठक बस्नेगरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
बैठकमा ‘भिजिट भिसा’ प्रकरणमा विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकका बिषयमा समेत के गर्ने भनेर छलफल हुने जनाइएको छ। सोही प्रकरणमा कांग्रेसभित्रै कतिपय नेताहरुबाट गृहमन्त्री लेखकको राजीनामा समेत मागिएको छ।
पदाधिकारी बैठकमा यसबाहेक महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे बैठकमा जानकारी गराउने एजेण्डा समेत छ।
अख्तियारले गत बुधबार गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराईलाई कार्यालयमा छापा मारेर नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखक समेत विवादमा तानिएका छन्।
प्रकाशित मिति: १४:५७ बजे, आइतबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार