पर्यटकीय विकासको गन्तब्य स्थलहरुको ब्रान्डिङ गर्नुपर्छ : मन्त्री गुरुङ
उनले पछिल्लो समय सम्बन्धित निकायहरुमा कामभन्दा बढि कुरामा व्यस्त रहने संस्कार भएको भन्दै यसबाट मुलुकको विकास नहुने बताए।-(36)-1748161857.jpg)
काठमाडौं, जेठ ११ : सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय विकासको लागि विभिन्न ठाउँलाई ब्रान्डिङ गर्नुपर्ने बताएका छन्।
आइतबार राष्ट्रिय सामाचार समिति(रासस)को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनका लागि अन्तर्राष्ट्रियरुपमा देखिने गरी ब्रान्डिङ गर्नुपर्ने औंल्याएका हुन्। उनले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।
‘पर्यटनको लागि प्राकृतिक, सांस्कृतिक र साहसिक रुपमा ब्रान्डिङ गर्नुपर्छ । रारा, फेवाताल, खप्तड, शैलुङलाई ब्रान्डिङ गर्नुपर्यो,’ उनले भने, ‘कुन–कुन ठाउँलाई ब्रान्डिङ गर्ने अन्तर्राष्ट्रिय रुपमा देखिनेगरी ब्रान्डिङ गरी पूर्वाधार निर्माण गर्न सकियो त्यसैमा निर्धारित नीति निर्माण बनाउनुपर्छ। जसले गर्दा पर्यटकीय क्षेत्रमा विकास गर्न सकिन्छ।’
उनले पछिल्लो समय सम्बन्धित निकायहरुमा कामभन्दा बढि कुरामा व्यस्त रहने संस्कार भएको भन्दै यसबाट मुलुकको विकास नहुने बताए।
‘हाम्रो एउटा संस्कार छ, सबै आजित छौं। असाध्यै धेरै कुरा गर्छौं, असाध्यै धेरै भाषणभूषण गर्छौं। काम चाहिँ थोरै गर्छौं। सम्बन्धित नीति र कार्यक्रमहरु पनि कम बनाउँछौं,’ उनले भने, ‘यही गतिले जाने हो भने हामीले खोजेको गन्तब्यमा पुग्न सक्दैनौं। हामीमा काम गर्ने संस्कार भन्दा पनि भेला, गोष्ठी बढि गर्छौं। तर पाइला चाल्ने काम कम गर्छौ। यसबाट हाम्रो मुलुक मुक्त हुनुपर्छ।’
मन्त्री गुरुङले उनले योजना बनाउनेहरुले मुलुकको आवश्यकता नबुझेको भन्दै विकासमा पुरानो सोचाइ राख्ने गरेको बताए। उनले पर्यटकको विकासका लागि बजेट निर्माण पछाडि पारेको बताए।