ग्वार्को फ्लाई ओभर असार १ गतेबाट संचालनमा आउँछ : मन्त्री दाहाल
उनले ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको बताए।
काठमाडौं, जेठ ११ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन्। आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन्।
सोही क्रममा उनले ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको बताए।
‘फ्लाई ओभरको काम कर्मचारीहरुले पनि हेर्नुपर्ने थियो। तर सुरुमा समस्या केही देखिएन्, पछि गएर समस्या देखियो। त्यसैले पुनः तलैदेखि बनाउनु पर्ने अवस्था आयो। जसका कारण ढिला भयो, ढिलै भएपनि परिणाम राम्रै आएको छ,’ उनले भने, ‘अब जेठको अन्तिमसम्ममा काम सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने हाम्रो तयारी छ।’
निर्माण कम्पनीले जेठभित्रै दुवैतर्फको ¥याम्प अर्थात फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचनामा कालोपत्रे सकिने र लगत्तै गाडी गुडाउने तयारी गरेको छ।
ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको ¥याम्पमा बिहीबारदेखि नै प्राइम कोट बिछ्याउन सुरु गरेको छ ।
सातदोबाटोतर्फको र्याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ । ओभरपास सम्पन्न गर्न १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको हो।
सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो। त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी कम्पनीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो।