गृहमन्त्री लेखक भन्छन्– एक रुपैयाँ अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु
लेखकले आगामी जेठ १३ गते प्रतिनिधिसभामा उपस्थित भएर उक्त विषयमा विस्तृत धारणा राख्ने जानकारी दिए।
काठमाडौं, जेठ १० : गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको आरोप लगाउँदै ती आरोपहरूको कडा खण्डन गरेका छन्।
शनिबार प्रेस ब्रिफिङ गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सम्बन्धी भिजिट भिसाको विषयलाई लिएर गरिएको आलोचना आधारहीन रहेको दाबी गरे।
‘मेरा विरुद्धमा नियोजित र षडयन्त्रमुलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अधयागमनको भिजिट भिसाको विषय मात्रै होइन मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जिवनमा, यदी एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु,’ उनले भने।
लेखकले आगामी जेठ १३ गते प्रतिनिधिसभामा उपस्थित भएर उक्त विषयमा विस्तृत धारणा राख्ने जानकारी दिए। उनले यथार्थ तथ्य सार्वजनिक गरिने बताउँदै अनावश्यक भ्रममा नपर्न आग्रह समेत गरे।