प्रबन्ध निर्देशक हुनुअघि नै रवि गोर्खा मिडियाको आर्थिक कारोबारमा संलग्न रहेको सर्वोच्चको निष्कर्ष
‘कम्पनीको खातामा सहकारी संस्थाबाट पटकपटक रकम आएको देखिँदा सहकारी संस्थाबाट रकम लैजाने गरी भएको आर्थिक कारोबारमा यी निवेदक प्रबन्ध निर्देशक हुनुपूर्वदेखि नै संलग्न भएको देखिन आयो’, सर्वोच्चको आदेशमा छ ।
काठमाडौं, जेठ ९ : सहकारीको हिनामिना प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुनुअघि नै कम्पनीको कारोबारमा संलग्न रहेको निष्कर्ष सर्वोच्च अदालतले निकालेको छ।
पत्नी निकिता पौडेलले हालेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो निष्कर्ष निकालेको हो। गाेर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुनुअघिबाटै उनी कम्पनीको आर्थिक कारोबारमा संलग्न रहेको निष्कर्ष निकाल्दै रविलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत, तुल्सीपुर बुटवल इजलासको आदेश सदर गरेको हो।
‘लामिछानेले आफू मिति २०७७र०९र३० मा मात्र कम्पनीमा प्रबन्ध निर्देशकका रुपमा नियुक्ति लिएको पाएकाले सो अगाडिको आर्थिक कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको भन्ने जिकिर लिएको भए तापनि,’ आदेशमा भनिएको छ, ‘निजले कम्पनीमा प्रबन्धक निर्देशकको पदमा नियुक्ति पाउनु अगाडि नै मिति २०७७र०७र०२ को सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशकको हैसियतले उपस्थित भएको देखिन्छ र सो बैठकले ग्लोबल आईएमई बैंकको कालोपुल शाखामा खाता सञ्चालन गर्ने निर्णय गरेको देखिन्छ।’
त्यो खातामा जिबी राई, छविलाल जोशी वा रवि लामिछानेमध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन गर्ने भनी निर्णय गरेको देखिएको समेत भनिएको छ ।
‘सोही निर्णय बमोजिम खोलिएको कम्पनीको खातामा सहकारी संस्थाबाट पटकपटक रकम आएको देखिँदा सहकारी संस्थाबाट रकम लैजाने गरी भएको आर्थिक कारोबारमा यी निवेदक प्रबन्ध निर्देशक हुनुपूर्वदेखि नै संलग्न भएको देखिन आयो’, सर्वोच्चको आदेशमा छ ।
हाल लामिछाने जिल्ला कारागार रुपन्देहीमा थुनामा छन् । अब उनी जिल्ला अदालतबाट सफाई पाए पछि मात्रै थुनामुक्त हुनेछन्।