१०८ लाई प्रतिवादी बनाउन रायसहित तीनकुने घटनाको अनुसन्धान सरकारी वकील समक्ष
जिल्ला प्रहरी परिसर काठमाडौंले १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको छ।
काठमाडौं, जेठ ९ : तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका आरोपीविरुद्धको अनुसन्धान फाइल शुक्रबार प्रहरीले सरकारी वकील समक्ष बुझाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको हो।
प्रतिवेदन अध्ययन गर्न समय अभावका कारण आइतबार मुद्दा दर्ता हुने भएको छ। अनुसन्धान प्रतिवेदन अध्ययनपछि मात्र सजायको मागसहित कानुनको दफा उल्लेख गरेर अदालतमा अभियोगपत्र पेश हुने छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको छ।
पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ । मुद्दा चलाउन राय दिइएका मध्ये ५३ जना पक्राउ परी प्रहरीकै हिरासतमा रहेका छन्।
प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले संयुक्त रुपमा घटनको अनुसन्धान गरेको समेत जनाइएको छ।