परराष्ट्रमन्त्री डा. राणा र जाइका अध्यक्षबीच भेट
जाइकाको मुख्यालयमा शुक्रबार भएको भेटमा दुईबीच नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ।
काठमाडौं, जेठ ९ : जापान भ्रमामा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोसँग भेट गरेकी छिन्।
जाइकाको मुख्यालयमा शुक्रबार भएको भेटमा दुईबीच नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ।
सो अवसरमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिइन्।
नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा जाइकाले गरेको सहयोगको उनले प्रसंशा गरिन्।
मन्त्री राणाले पछिल्लो समयमा नागढुङ्गा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुनःनिर्माण एवं मर्मतसम्भारलगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइकामार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरेकी थिइन्।
