लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको सभापित पाेखरेलकाे आरोप
सभापित पाेखेलले सांसद मोदीले मिडियालाई बोलाएर भाइरल हुनको लागि मात्र उक्त अभिव्यक्ति राखेको आरोप समेत लगाए।
काठमाडौं, जेठ ८ : सार्वजनिक लेखा समितिमा आज पनि सांसद र सभापतिबीच चर्काचर्की भएको छ।
बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बुधबारको जस्तै माहोल देखियो। समितिमा प्राप्त उजुरीउपर छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदी र सभापति ऋषिकेश पोखरेलबीचको चर्काचर्कीले बुधबारकै अवस्था निम्ताएको हो।
बैठकमा सांसद मोदीले समिति सत्तापक्ष दलको मात्र भएको भन्दै प्रतिपक्षलाई बोल्न समेत प्रतिबन्ध लगाइएको धारणा राखेका थिए।
‘यहाँ विभिन्न दलको प्रतिनिधित्व गर्ने सांसद हुनुहुन्छ। सांसद भनेको सार्वभौम हो तर हामी प्रतिपक्षमा छौं। हामीले बोलेका कुराहरुमा तपाइँहरुले रोक्नुहुन्छ, यो दुर्भाग्य हो। हामीलाई प्रतिबन्ध लगाउन पाउनुहुन्न,’ उनले भने, ‘प्रतिपक्ष दलले बोल्न पाउनुपर्छ। सार्वजनिक लेखा समिति प्रतिपक्षको पनि हुनुपर्यो भन्दा तपाइँहरु हुनुहुँदैन् भन्ने?, तपाईहरुको हामी दास हो र?’
यत्तिकैमा सभापति पोखरेलले आजको दिनसम्म समितिमा प्रतिपक्षलाई बोल्न नदिएको भन्ने गलत व्याख्या गरेको भन्दै आपत्ति जनाए। उनले सांसद मोदीले मिडियालाई बोलाएर भाइरल हुनको लागि मात्र उक्त अभिव्यक्ति राखेको आरोप समेत लगाए।
‘आजको दिनसम्म बोल्न पाउनुहुन्न भनेको छैन, गलत व्याख्या नगर्नुहोस्। तपाईले दुई चारजना मान्छे भिडियो खिच्ने लिएर आउनुभएको छ,’ उनले भने, ‘युट्बरलाई बोलाएर भाइरल हुनुछ, त्यति हो । हरेक दिन तपाइँ किन बोल्नुहुन्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ।’
फेरि सांसद मोदीले खाली बेरुजु फर्छर्यौट गर्ने, उजुरी परेका विषयमा मात्र छलफल गर्ने मात्र नभइ किसानका समस्या र भ्रष्टाचारको विषयमा पनि समितिमा छलफल हुनुपर्ने धारणा राखे।
‘खाली बेरुजु फर्छर्यौट गर्ने मात्रै होइन, उजुरी परेका विषयमा मात्र गर्ने होइन्। सार्वजनिक बहसका कुराहरुपनि हुन्छन्,’ उनले भने, ‘आज किसानले मल पाएको छैनन्, यो विषयपनि उठ्नुपर्छ। यसमा छलफल चलेको छैन। मूल्यबृद्धि भइरहेको छ, भ्रष्टाचारका कुरा आइरहेको छन् यस विषयमा चाँही कुरा उठ्नु पर्दैन्?’
त्यसैक्रममा सभापति पोखरेल आक्रोसित हुँदै समितिको बैठकलाई अमर्यादित बनाउन सांसद मोदीले हरेक पटक गलत अभिव्यक्ति राख्ने गरेको बताए। उनले समितिलाई बैठकलाई अमर्यादित बनाएर सुटिङ गर्ने थलो बनाएको समेत उनले बताए।
‘सार्वजनिक बैठक अर्को दिन गरौंला, तपाइँ सँधै बोल्ने योजनामा हुनुहुन्छ। बैठकलाई अमर्यादित बनाउन हरेक पटक यस्तै अभिव्यक्ति दिइरहनुभएको छ,’ उनले भने, ‘तपाईलाई यही युट्युव चाहिएको छ, विज्ञापन चाहिएको छ। बैठकलाई अमर्यादित बनाएर सुटिङ गर्ने काम भइरहेको छ।’
हिजो बुधबार पनि सांसद अमनलाल मोदीले बोल्दै गर्दा चर्काचर्की भएको थियो। उनले सत्तापक्ष तथा नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले सांसदहरूले फरक प्रस्ताव राखेको भन्दै उनले अन्तर्राष्ट्रिय परम्परा अनुसार जुन पार्टीको प्रधानमन्त्री हुन्छ, सोही दलको सभापति लेखा समितिमा हुन नहुने विषय उठाएका थिए।
