‘पोखरा विमानस्थलको प्रतिवेदनमाथि चिनियाँ ठेकेदार कम्पनीले भ्रम छर्यो’
लिङदेनले सूचनामार्फत संसद्को गरिमा खल्बल्याउने प्रयास गरिएको भन्दै सम्बन्धित निकायले यस विषयमा तुरुन्त छानबिन गर्नुपर्ने बताए।-1716544526.jpg)
काठमाडौं, जेठ ७ : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण र हचुवा भएको परियोजनाको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले जारी गरेको विज्ञप्तिमा संसदीय उपसमितिका सभापति राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन्।
लिङदेन संयोजक रहेको उपसमितिको प्रतिवेदनमाथि बुधबार सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले चिनियाँ ठेकेदार कम्पनीले निकालेको विज्ञप्ति प्रति आपत्ति जनाएका हुन्।
‘निर्माण कम्पनीले भर्खरै जुन विज्ञप्ति जारी गरेको छ, यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसमा सार्वजनिक लेखा समितिको पनि ध्यानाकर्षण होस्। एउटा सार्वभौम संसदले तयार गरेको प्रतिवेदनमाथि यसरी विज्ञप्ति निकालेर एकदमै भ्रमपूर्ण भाषा प्रयोग गरेर विज्ञप्ति निकाल्नु उचित हुन्छ कि हुँदैन,’ उनले छलफलका क्रममा भने, ‘प्रतिवेदन विचाराधीन भएको अवस्थामा प्रभाव पार्नु हुन्छ कि हुँदैन, यसमा समितिले गम्भीर रूपमा सोच्नुपर्छ। यसको म कडा रूपमा प्रतिवाद गर्दछु।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपसमिति सभापति लिङदेनले प्रतिवेदन सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गरेर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। लिङदेनले सूचनामार्फत संसद्को गरिमा खल्बल्याउने प्रयास गरिएको भन्दै सम्बन्धित निकायले यस विषयमा तुरुन्त छानबिन गर्नुपर्ने बताए।
‘उपसमितिले पेश गरेको प्रतिवेदनमा भित्र र बाहिर गरेर दुई प्रकारका चर्चा भइरहेका छन्। कुनै दफावार वा कुनै विषयमाथि विषय उठ्यो भने छलफल गरिने नै छ । तर, व्यापक आर्थिक र राजनीतिक रूपमा अनियमितता भएको निष्कर्ष निकालिएको छ । यसमा सम्बन्धित निकायले थप अनुसन्धान गरेर कार्यान्वयनमा लिनुपर्छ । कतिपयले प्रतिवेदन अध्ययन नगरेर नै हचुवाको भरमा प्रतिवेदन ल्यायो, स्वार्थमा बन्यो भन्ने भनाइमा मेरो आपत्ति छ,’ उनले भने।
उनले ठेक्का प्रक्रियाको सुरुवातामा नै ठुलो मात्रामा तलमाथि गरियो बताउँदै त्यसलाई पुष्टि गर्नका लागि जुन प्रक्रिया अपनाइयो त्यो अहिलेसम्मकै नीतिगत रूपमा ठुलो भ्रष्टाचार हो भन्ने उपसमितिले औंल्याएको उनले बताए।
कम्पनीले मंगलवार विज्ञप्ति जारी गर्दै प्रतिवेदनमा आफूमाथि गरिएको टिप्पणीलाई तथ्यहीन, हचुवा र पूर्वाग्रही भएको जनाएको थियो।