Kathmandu Press

अवहेलना मुद्दामा कांग्रेस महामन्त्री थापाले सर्वोच्चलाई दिए जवाफ 

महामन्त्री थापाको जवाफमा स्वस्थ आलोचनाले अदालतको प्रतिष्ठामा आँच पुर्याउने र अदालतको अधिकारलाई चुनौती दिने नभई यसले न्यायिक जबाफदेहिता सुनिश्चित गर्न मद्दत पुर्याउने बताएका छन्। 
अवहेलना मुद्दामा कांग्रेस महामन्त्री थापाले सर्वोच्चलाई दिए जवाफ 
फाइल तस्बिर।

काठमाडौं, जेठ ७ : अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुधबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्। थापाका तर्फबाट अधिवक्ता अमृतकुमार केसीले लिखित जवाफ बुझाएका हुन्। 

५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको भन्दै थापाले अदालतको अवहेलना गरेको आरोपसहित दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा  सर्वोच्चले थापासँग जवाफ माग गरेको थियो। 

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत वैशाख १६ गते थापासँग लिखित जवाफ मागेको हो। 

महामन्त्री थापाको जवाफमा स्वस्थ आलोचनाले अदालतको प्रतिष्ठामा आँच पुर्याउने र अदालतको अधिकारलाई चुनौती दिने नभई यसले न्यायिक जबाफदेहिता सुनिश्चित गर्न मद्दत पुर्याउने बताएका छन्। 

जवाफमा भनिएको छ, ‘मैले व्यक्त गरेका विचार संविधानको भावना र मर्म अनुरुप राज्यका संस्थाहरू सबल बन्न सकुन् र न्यायिक जबाफदेहिताको सिद्धान्तलाई शिरोपर गरियोस् भन्ने अभिप्रायबाट व्यक्त गरिएका हुन्। पब्लिक इन्ट्रेस्टका लागि असल नियतले व्यक्त गरिएका यस्ता सत्य तथ्यले अदालतको अवहेलना हुँदैन।’ 

उनले कुनै पनि विचार र अभिव्यक्तिले अदालतको छवि धूमिल बनाउने कार्य गरेको अवस्थामा मात्र अवहेलनाको कारबाही हुन सक्ने भए पनि आफुले त्यस्तो नगरेको जिकिर लिएका छन्। 

थापाले आफ्नाविरुद्ध दायर भएको अवहेलनाको निवेदन खारेज गर्न माग गरेका छन्। 


 

प्रकाशित मिति: १५:२६ बजे, बुधबार, जेठ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्