को हुन् राष्ट्र बैंकको १८औं गभर्नर पौडेल?
पौडेलको समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा परिचय छ। उनी युवा अर्थशास्त्रीका रुपमा समेत चिनिन्छन्।
काठमाडौं, जेठ ६ : नेपाल राष्ट्र बैंकले अर्थशास्त्री डा.विश्वराज पौडेललाई नयाँ गभर्नरका रुपमा पाएको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार पौडेल गभर्नरमा नियुक्त भइसकेका छन्। अर्थशास्त्री पौडेल २०३२ सालमा चितवनको रत्ननगर नगरपालिकामा जन्मिएका हुन्। उनले अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयबाट अमेरिकाको क्यालिफोर्निया युर्निभर्सिटी बर्कलेबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका छन्।
पौडेल राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष भइसकेका व्यक्ति हुन्। उनी इन्टरनेशनल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन (इसिमोड) को सञ्चालक समितिको अध्यक्ष भई काम गरेको अनुभव समेत छ। पौडेलले विगतमा कोलम्बो प्लान काउन्सिलको अध्यक्ष समेत भएर काम गरेका थिए।
यस्तै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकार, काठमार्डौ विश्लविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक एवम् प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा समेत पौडेलको अनुभव छ। पौडेल ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उमेदवार बनेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालसँग पराजित उम्मेदवार हुन्। निर्वाचनमा पराजित भएपछि उनी अध्यापन पेसामा फर्केका थिए।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वको सिफारिस समितिले गभर्नरका लागि पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो। गभर्नरका लागि पौडेलसहित निलम तिम्सिना ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई थिए। मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेपछि राष्ट्र बैंक नेतृत्वका लागि मार्गप्रशस्त भएको हो।
पौडेलको समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा परिचय छ। उनी युवा अर्थशास्त्रीका रुपमा समेत चिनिन्छन्। उनले चीनबाट इन्जिनियरिङमा स्नातक गरेका छन्। उनी विगतमा सानिमा बैंकका सञ्चालक समेत रहेका थिए।
साथै, मिलेनियम च्यालेन्ज कर्पोरेसन नेपाल (एमसीसी) को कार्यालयमा अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका छन्। यसअतिरिक्त उनले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार, इसिमोडको बोर्ड अफ गभर्नरको अध्यक्ष, रिजनल इकोनोमिक कर्पोरेसन एन्ड इन्टिग्रेसनको अध्यक्ष, नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकारको जिम्मेवारी समेत पूरा गरिसकेका छन्।