सुनिल पौडेलसहित ५ जनाविरुद्ध पौने ६ करोडको अर्को भ्रष्टाचार मुद्दा
आर्थिक वर्ष ०७५/७६ मा केन्द्रका लागि विभिन्न उपकरण खरिद गर्दा पौने ६ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
काठमाडौं, जेठ ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध पुनः अर्को भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
आर्थिक वर्ष ०७५/७६ मा केन्द्रका लागि विभिन्न उपकरण खरिद गर्दा पौने ६ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पौडेलसँगै केन्द्रका तत्कालिन निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनलन प्राली पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनविरुद्ध ५ करोड ७९ लाख बराबर भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरिएको छ।
अख्तियारको अनुसन्धानका क्रममा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमान तयार गरी पेश भएको तथा बोलपत्रमा म्याक्स इन्टरनेशनलले सन् २०७६ असार ४ मा उक्त केन्द्रमा पेश गरेको भ्याट बाहेक २ करोड ६५ लाख रुपैयाँ र अर्को शिर्षकमा भ्याट बाहेक ३ करोड १४ लाख रकम म्याक्स इन्टरनेशनललाई भुक्तानी भएको देखिएको दाबी अख्तियारको छ।
पौडेलसहितका प्रतिबादीले आपसी मिलेमतोमा स्वार्थ बाझिने गरी लागत अनुमान तयार गरेको, सम्झौता बमोजिमको कार्य नै नभएको अवस्थामा समेत कार्य भएको भन्दै रकम भुक्तानी लिनुदिनु गरेको दाबी अख्तियारको छ।
यी प्रतिवादीले आफूलाई गैरकानूनी लाभ पु¥याउने तथा नेपाल सरकार र सार्वजनिक संस्थालाई हानी पु¥याउने बदनीयतले ५ करोड ५९ लाख बरावरको रकम बढी भुक्तानी लेनदेन गरी कसूरजन्य कार्य गरेगराएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।