हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
‘सगरमाथाले हाम्रो दृढताको सम्झना गराउँदै अटल उभिएको जस्तै, यो संवादको नतिजाले हामीलाई हाम्रो संकल्पको सम्झना गराओस्,’ उनले भनिन्।
काठमाडौं, जेठ ४ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताएकी छिन्।
गत शुक्रबारदेखि यहाँ जारी सगरमाथा संवादको समापन सत्रलालाई सम्बोधन गर्दै उनले संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तरराष्ट्रिय संगठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको बताइन्।
संवादका निष्कर्षको कार्यान्वयन र लक्ष्यित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवशयक पर्ने उल्लेख गर्दै मन्त्री डा राणाले संवाद एउटा कार्यक्रम मात्र नभइ विचारको सङ्गम र साझा जिम्मेवारीको उत्सव भएको उनले बताइन्।
‘सगरमाथाले हाम्रो दृढताको सम्झना गराउँदै अटल उभिएको जस्तै, यो संवादको नतिजाले हामीलाई हाम्रो संकल्पको सम्झना गराओस्,’ उनले भनिन्।
संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उठाइने उनले जानकारी दिइन्।
उक्त विषय यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तरराष्ट्रिय सम्मेलन,संयुक्त राष्ट्रसंघको ८०औं महासभा तथा यसै वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–३० लगायत अन्तरराष्ट्रिय मञ्चमा उठाइने उनले बताइन्।
सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने जानकारी परराष्ट्रमन्त्री डा. राणाले दिइन्।

