माओवादीसँग गठबन्धनको सम्भावना छैन : कांग्रेस
‘माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा छैन,’ सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकार परिवर्तनबारे पनि कांग्रेसको कुनै सोच र योजना छैन।’-1747492117.jpg)
काठमाडौं, जेठ ३ : सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँगको गठबन्धन हुने कुनै सम्भावना नरहेको बताएको छ।
शनिबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछि सञ्चालकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धनको कुनै सम्भावना रहेको जनाए।
‘माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा छैन,’ सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले भने, ‘सरकार परिवर्तनबारे पनि कांग्रेसको कुनै सोच र योजना छैन।’
यस्तै, बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र पार्टीले लिनुपर्ने आगामी बाटो तथा अपनाउनुपर्ने सतर्कताबारे पनि सांसदले सुझाव दिएको उनले बताए।
अब केही दिनभित्रै गभर्नर नियुक्ति हुने बताउँदै प्रमुख सचेतक घिमिरेले बैठकमा प्रतिनिधिसभा सदस्यद्वय माया राई र मोहनबहादुर बस्नेतका विषयमा पनि कुरा उठेको जनाए।
बैठकमा बजेट क्षेत्रगत विकासका लागि सन्तुलित र समान ढंगले वितरण हुनुपर्नेलगायत विषयमा सांसदहरूले खुलेर छलफल गरेको उनले बताए।
बैठकले प्रतिनिधिसभा सदस्य एवं नेता डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेको भने यस्तै, सांसद नागिना यादवका पिताको स्वर्गारोहण र नेपाली कांग्रेस ओखलढुङ्गा र तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति महेश कर्मोचाको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको छ।