गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा, हाल देखिएका समस्या समाधान गर्ने
गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए।-(25)-1747469123.jpeg)
सोलुखुम्बु, जेठ ३ : गृहमन्त्री रमेश लेखकले शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन्।
पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधारशिविर पुगेका हुन्।
सो क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए।
उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै, सरकारको नीति यस्तो सेवालाई सहज बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पारे।
‘सगरमाथा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले अब फरक ढंगले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ। हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौं,’ गृहमन्त्री लेखकले भने।
हालसम्म सगरमाथा क्षेत्रमा उद्धार बाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने भन्ने स्थानीय माग हुँदै आएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाले बारम्बार हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको हो।
तर, अर्कोतर्फ पर्यटन व्यवसायीहरुले अत्यधिक हेलिकप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै, नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन्।
अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली समेत सगरमाथा क्षेत्रमा देखिएका समस्याबारे जानकार रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।