वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन : मन्त्री गुरुङ
उनले नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाइराख्नु भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै भएको भन्दै यसलाई पालराख्न नहुने बताए।
काठमाडौं, जेठ २ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल वायु सेवा निगमलाई सरकारले ‘धर्मपुत्र’ पालेको जसरी पाल्नुपर्ने आवश्यक्ता नभएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क र अगाडिको बाटो विषयक मल्टी स्टेकहोल्डर छलफलमा उनले नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाइराख्नु भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै भएको भन्दै यसलाई पालराख्न नहुने बताए।
‘नेपाल वायु सेवा निगमको पहिला जे अवस्था थियो अहिले पनि त्यही नै छ। नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाई राख्ने यसबाट उन्नती हुन्छ भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै हो,’ उनले भने, ‘यसले दुरुपयोग मात्र गरेको छ। अरु केही पनि गरेको छैन। यसलाई पीपीए मोडेलमा लानुपर्छ। सरकारले ‘धर्मपुत्र’ पालेको जसरी पालिराख्न भएन। आजको दिनसम्म पनि त्यसको हालत त्यस्तै छ।’
यस्तै, उनले इमानका साथ एक पैसा दायाबाया हुने गरेर काम गर्ने हो भने मुद्दा लाग्छ भनेर डराइ रहननपर्ने बताए।
‘हाम्रो संगठनहरू गाँउ घरतिर हुने लिंडे गोरु जस्तो भएको हुनाले परिणाम राम्रो आउन नसकेको हो। अहिलेसम्मको समीक्षा गर्दा मैंले काम गर्न सकेको छैन। हाम्रै मन्त्रालयमा हिजो बाढी गयो, मजस्तै मन्त्री मुद्दामा परिरहेका छन्,’ उनले भने, ‘यस्तो पनि डर छ। तर इमानका साथ काम गर्ने एक पैसा दायाबाया हुने गरेर कुनै काम गर्नु भएन्। त्यसैले डराउनु पर्दैन। तर मान्छेको मन त हो डर लागिहाल्छ। त्यसकारण हामीले देश, जनता, मन्त्रालयको कामको लागि र यो क्षेत्रलाई बढाउनको लागि इमानका साथ काम गरौं।’
