विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङसँग जोड्नु गलत : शाक्य
उनले ढल्केवर मुजफरपुर ४ सय केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिँदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे।-1747384884.jpg)
काठमाडौं, जेठ २ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडेर अब इन्भटर र मैन बत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्तिपनि सत्यता नरहेको बताए।
‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडेर अब इन्भटर र मैनबत्तीको दिन आए भन्दै सामाजिक संजालमा अभिब्यक्त भनाइप्रति कत्ति पनि सत्यता नरहेको र अव नेपालमा पुनः लोडसेडिङ शुरु हुने दिन आउदै नआउने ब्यहोरा आम उपभोक्तालाई जानकारी गराउँछौं,’ उनले भने।
त्यस्तै उनले ढल्केवर मुजफरपुर ४ सय केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिँदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे।
बेलुकाको समयमा लोड बढ्ने भएकाले आपुर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए।
‘ढल्केवर आसपासको क्षेत्रमा अति उच्च वेगका साथ चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४ सय केभि डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ देखिएको समस्याका कारण नेपालमा सो लाइनमार्फत आपुर्ति हँुदै आएको विद्युत अचानक अवरुद्ध हुन पुगेको थियो,’ उनले भने, ‘दुवै सिर्किटमा आएको समस्या तत्काल समाधान नभएकाले नेपालको मात्र प्रणाली संचालन गरि विद्युत आपुर्ति ब्यवस्था मिलाउन प्रयास गरिएको तर वेलुकाको समयमा बढेर आउने लोडको कारण स्थिर आपुर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको थियो।’
रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया, कुशहवा–कटैया १३२ केभि लाइनहरुमार्फत नेपालतर्फको विद्युत गृहहरू संचालन गरी आपुर्ति व्यवस्था मिलाउन प्रयास गरिएको कार्यकारी निर्देशक शाक्यले बताए। मागभन्दा कम उत्पादनका कारण सिस्टम स्टेवल नभइ लाइन ट्रिपिङ्ग भइ विद्युत प्रणाली संचालन गर्न नसकिएको उनले बताए।
विद्युत प्रणालीमा देखिएको समस्या दिर्घकालिन रुपमा समाधान गर्नका लागि प्राधिकरण प्रतिवद्ध भन्दै उनले आगामी दिनमा यस्ता समस्या नदोहोरिनका लागि तत्कालिन मध्यकालिन र दिर्घकालिन योजना बनाइ कार्य गरिरहेको पनि जानकारी दिए।
-(30)-1751555458.jpg)