लामिछानेको वन्दीप्रत्यक्षीकरण रिटलाई सर्वोच्चको संयुक्त इजलासमा पठाइयो

काठमाडौं, बैशाख ९ : सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको रिट निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ।
लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा वन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेकी थिइन्।
उक्त रिटमा मंगलबार सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । न्यायाधीश मुसलमानको इजलासले उक्त रिटलाई संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । यो रिटमा अब दुईजना न्यायाधीश संलग्न संयुक्त इजलासमा सुनुवाई हुने छ।
लामिछानेको थुना गैरकानुनी रहेको दाबीसहित आइतबार प्रत्यक्षीकरणको रिट दर्ता भएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामै पठाउन आदेश गरेपछि लामिछाने रुपन्देही कारागारमा थुनामा छन् । उच्च अदालतबाट चैत २२ गते थुनामा पठाउन आदेश भएको थियो।
-1746274827.png)