Kathmandu Press

एनआरएनएहरुबीच एकता कायम गर्न राष्ट्रपतिको सुझाव

‘तपाईहरूको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरुको भूमिका पनि महत्वपूर्ण छ, सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ,’ उनले भने। 
एनआरएनएहरुबीच एकता कायम गर्न राष्ट्रपतिको सुझाव

काठमाडौं, वैशाख ८ : राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिपेक्ष्यमा गैरआवासीय नेपाली संघमा देखा परेको विवाद समाधानका लागि एनआरएनएकै अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

गैरआवासीय नेपाली संघको एक समूहका अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग शितलनिवासमा सोमबार भएको भेटघाटमा राष्ट्रपति पौडेलले एनआरएनए विश्व डायस्पोरामै उत्कृष्ट संस्था भएकोले व्यक्तिगत वा कुनै साना समुहगत असन्तुष्टीका कारण संस्था नै अप्ठेरोमा पार्न नहुने उल्लेख गरे।

‘तपाईहरूको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरुको भूमिका पनि महत्वपूर्ण छ, सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ,’ उनले भने। 

भेटमा शेष घले नेतृत्वमा आगामी मेमा एकताको महाधिवेशनका नाममा विधान विपरित गतिविधि गर्न लागेको अध्यक्ष डा. बद्री केसीले जानकारी गराए।  

‘हाम्रो मुख्य खम्बा भनेको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) भए पनि घले समुहले एनसीसीको अधिवेशन नै नगरी आफू खुशी एकता महाधिवेशनको नाममा विधानविपरित गतिविधि गर्न लागेको छ,’ उनले भने।

जवाफमा राष्ट्रपति पौडेलले विधानसम्मत रुपमा विधिपूर्वक सबै काम हुनुपर्नेमा जोड दिए। उनले संवादमार्फत एउटा मिलनविन्दु खोज्न आग्रह गरे। 

उक्त अवसरमा अध्यक्ष डा केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपनि त्यसको कार्यान्वयन नहुँदा समस्या भइरहेको अवस्थामा अध्यादेशमा समेत कुनै नयाँ व्यवस्था नहुँदा नागरिकता कार्यान्वयनविहिन भएको उल्लेख गरे।
 

प्रकाशित मिति: २०:३० बजे, सोमबार, वैशाख ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्