Kathmandu Press

करारका अमिनको ३ करोड ‘अकुत’ सम्पत्ति फेला परेपछि...

अख्तियारको छानविनबाट २०६३ भदौ ८ देखि २०८१ असार ३० सम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा ३ करोड २९ लाख ४५ हजार ७०२ रूपैयाँ २१ पैसा अवैध देखिएको दाबी अभियोगपत्रमा लिइएको छ। 
करारका अमिनको ३ करोड ‘अकुत’ सम्पत्ति फेला परेपछि...

काठमाडौं, वैशाख ८ : करारमा रहेका एक अमिनले सवा ३ करोडभन्दा बढी भ्रष्टाचार गरको अभियोगमा विशेष अदालतमा सोमबार मुद्दा दर्ता भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालन गरिरहेको बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटका अमिन दिनेशप्रसाद यादवमाथि भ्रष्टाचारको अभियोग लगाइएको हो। 

अख्तियारको छानविनबाट २०६३ भदौ ८ देखि २०८१ असार ३० सम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा ३ करोड २९ लाख ४५ हजार ७०२ रूपैयाँ २१ पैसा अवैध देखिएको दाबी अभियोगपत्रमा लिइएको छ। 

अख्तियारले जनाए अनुसार तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट जम्मा २ करोड ४२ लाख २० हजार ३०१ रूपैयाँ ३० पैसा आम्दानी देखिएको छ।

उक्त अवधिमा घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायतमा ५ करोड ७१ लाख ६६ हजार ३ रूपैयाँ ५१ पैसा खर्च देखिएको छ । अख्तियारले आम्दानीभन्दा खर्च बढी देखिएपछि गैरकानूनी बराबरको रकम बिगो मागदाबी गर्दै अभियोगपत्र दर्ता गरेको हो। 

गैरकानुनी रुपमा आर्जित सम्पत्ति र बढेबढाएको सम्पत्ति पत्नी अमृताकुमारी यादवको नाममा राखेको पाइएको दाबी समेत अख्तियारले गरेको छ । यादव पत्नी अमृताकुमारीका नाममा लुकाएको सम्पत्ति समेत जफतको मागदाबी गरिएको छ।
 

प्रकाशित मिति: १८:३८ बजे, सोमबार, वैशाख ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्