भारतीय विद्युतमन्त्री खट्टर भाेलि नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने
मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार नेपाल आउन लागेका हुन्।
काठमाडौं, वैशाख ७ : भारतीय विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन्। मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार नेपाल आउन लागेका हुन्।
भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर आउन लागेको बताइएको छ।
आयोजनाको अवलोकन गरी खट्टर बुधबार स्वदेश फर्किने छन्। साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरुण–३ को अवलोकन गर्न पुग्ने बताइएको छ। उक्त कार्यक्रममा एसजेवीएनका अध्यक्ष राजकुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ।
ऊर्जा मन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन्। खट्टरले मन्त्री खड्कासँग अन्य जलविद्युत् आयोजनामा भारतीय लगानी साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्य तालिका छ।
