विकासमा सधैं राजनीति गर्न हुँदैन : प्रधानमन्त्री ओली
‘म आग्रह गर्न चाहान्छु सबैलाई सधैं राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन, विकासमा ध्यान दिउँ। हामीले एक भएर देश बनाउनुपर्नेछ। मतभेदमा होइन एकतामा जोड दिउँ।’
चितवन, वैशाख ५ : प्रधानमन्त्री केपी ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गरेका छन्।
बिहीबार भरतपुरमा पुल्चोक–गोन्द्राङ ६ लेन सडकको उद्घाटन गर्दै उनले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गरे।
प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने चितवनको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए। सरकारको आफ्नै लगानीमा यो सडक बनाइएको उनले बताए।
प्रधानमन्त्री ओलीले विकासमा राजनीति गर्न नहुनेमा जोड दिए। ‘अहिले चुनाव लाग्या पनि छैन र अहिले चुनाव प्रचार गर्नु पर्या पनि छैन। त्यतापट्टी गइहाल्नुपर्ने आवश्यकता पनि छैन,’ उनले भने, ‘म आग्रह गर्न चाहान्छु सबैलाई सधैं राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन, विकासमा ध्यान दिउँ। हामीले एक भएर देश बनाउनुपर्नेछ। मतभेदमा होइन एकतामा जोड दिउँ।’
विचारमा विविधता हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गर्ने कुरामा मतभेद नराख्न आग्रह गरे। ‘देशको विकास गर्नैुपर्छ। हामी सबै मिलेर विकास गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन। आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले डेमेक्रेसीलाई बलियो पार्ने, विकास गर्ने र सुशासनलाई बलियो बनाउने कुरामा एकजुट भएर अघि बढ्न आग्ह गरे। देश विकासका लागि स्थिरता चाहिने भन्दै उनले दुई ठूला दल मिलेर सुशासन र विकासमा लागेको बताए।
देश अनेक उतारचढावबाट चल्दै आए पनि २०४७ सालपछि भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको ओलीले बताए। भौतिक निर्माणका क्रममा एकैपटक सबै काम गर्नुपर्नेमा जोड दिँदै उनले बनाउने र भत्काउने काम गर्न नहुने बताए।