Kathmandu Press

नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग आग्रह

उनले प्रस्थान गर्नुअघि तथा फर्केपश्चात सरकारले समेत श्रमिकको स्वास्थ्य रक्षाका लागि चालेको कदममा युएई सरकारबाट सहयोगको अपेक्षा गरे।   
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग आग्रह

काठमाडौं, वैशाख ५ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीहरुसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन्। 

अबुधाबीमा त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले ठूलो संख्यामा नेपाली त्यहाँ कार्यरत रहेको भन्दै उनीहरुको स्वास्थ्य रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र युएई सरकारबाट समेत उनीहरुको स्वास्थ्य रक्षाका लागि सहयोगको अपेक्षा गरेको बताए। 

उनले प्रस्थान गर्नुअघि तथा फर्केपश्चात सरकारले समेत श्रमिकको स्वास्थ्य रक्षाका लागि चालेको कदममा युएई सरकारबाट सहयोगको अपेक्षा गरे।   

मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य वीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मृगौला डायलसिस केन्द्रहरुको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे। 

युएईका स्वास्थ्य विभाग अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न तत्पर रहेको र दुई देशबीच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्न आवश्यक रहेको बताए। 

उनले युएईमा रहेका नेपाली श्रमिकहरुको प्रशंसा गर्दै नेपालसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन युएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार भएको तर यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानूनी आधार तयार हुन आवश्यक रहेको समेत बताएको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ। भेटमा नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी थिए। 

मन्त्री पौडेल आइतबार आयोजना हुने नेपाल फेस्टिभलमा प्रमुख अतिथिका रुपमा सहभागी हुने दूतावासले जनाएको छ। 
 

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, वैशाख ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्