राजिनामा पत्रमा सुमनाको असन्तुष्टी– सहकारी ठगको आरोप चिर्न सकेनौं
उनले पार्टीमा निर्णय हुँदा पदाधिकारी भएर समेत पार्टीसम्बन्धी महत्वपूर्ण विषय तथा निर्णय आधिकारिक श्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएको गुनासो पनि गरेकी छन् ।
काठमाडौं, वैशाख ४ : सहमहामन्त्री पदबाट राजीनामा दिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टीको कार्यशैलीप्रति चरम असन्तुष्टी व्यक्त गरेकी छन्।
श्रेष्ठले गत चैत्र १७ गते नै सभापति रवि लामिछाने पार्टी काममा फर्किएको दिन बुझाएको राजीनामा यतिबेला सार्वजनिक भएको छ। उनले ‘एक व्यक्ति एक पद’ को एजेन्डामा पार्टीले गंभिरता नदेखाएको पनि बताएकी छन्।
यस्तै, पार्टीले जनताले ठूलो आशा राखे अनुरुप डेलिभरि दिने क्षमता शून्य देखिएको पनि बताएकी छन्। उनले पार्टी भित्रका कामकारवाही ‘धेरै कर्मकाण्डी प्रक्रिया’ रहेको पनि बताएकी छन्।
‘जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो, त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर जनताले हामीमाथि ठूलो आशा राखेको स्पष्ट छ। मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ’, उनले थपेकी छन्, ‘तर दलको प्रस्तुति सोचे जस्तो सशक्त नभएको गुनासो छ। पुराना दलले हाम्रो पार्टीलाई लगाएको सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिशोध साँधेको नारा मात्र अघि बढायौँ। पार्टीका दुई प्रदेशका पालिका तहका पदाधिकारीहरू सबैलाई राखेर सामान्य तथ्याङ्क संकलनको काम दिँदा पनि कसैले केही नगरेको स्पष्ट हुन्छ।’
यस्तै, उनले पार्टीमा निर्णय हुँदा पदाधिकारी भएर समेत पार्टीसम्बन्धी महत्वपूर्ण विषय तथा निर्णय आधिकारिक श्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएको गुनासो पनि गरेकी छन्। सल्लाह नगरी महत्वपूर्ण निर्णय आउने गरेको भनाई उनको छ।
‘पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ। कयौं पटक विभिन्न बैठक बसौँ भन्दासमेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरुद्ध गरौँ भन्दा पनि नसुनिनेसमेत अवस्था देखेँ’, श्रेष्ठको असन्तुष्टी छ, ‘यसकारण यस्तो महत्वपूर्ण पद यसरी हलुका नबनाइदिनुहुन पनि आग्रह गर्छु।’
राजिनामा पत्रमा श्रेष्ठले संघीय सांसद हुँदा र पार्टीको महत्वपूर्ण जिम्मेवारी लिँदा पदविना केही गर्न सकिन्न भन्ने सन्देश जाने बताउँदै यस्मा आफ्नो गहिरो विमति रहेको खुलाएकी छन्।
‘अन्य पार्टीभन्दा हामीभिन्न भन्ने तर रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन,’ उनले भनेकी छन्। उनले एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न नसक्ने निष्कर्ष निकालेकी छन्।
साथै, उनले बैठकमा बस्ने क्रम, बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिने भन्दा बढी महत्व दिइएको भन्दै गुनासो पनि राखेकी छन्। यस्तो संस्कारले नयाँ कुराको विकास नहुने र काम गर्ने जाँगरलाई हतोत्साहित गर्ने उनको ठहर छ।
श्रेष्ठले उनले पार्टीले आफूमाथि ठूलो आशा गरी दिएको पद त्याग गर्नुलाई हल्का रुपमा नलिएको समेत बताएकी छन्। राजिनामापत्रमा उल्लेख छ, ‘यसले उब्जाउने थप केही प्रश्नको पनि म अग्रिम उत्तर दिएर स्पष्ट पार्न चाहान्छु।’