प्रचण्डले भन्दैमा सरकार बन्ने र ढल्ने भन्ने हुँदैन : कांग्रेस प्रवक्ता महत
‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो । उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन।’
काठमाडौं, वैशाख ४ : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको टिप्पणीप्रति प्रतिबाद गर्दै उनले भन्दैमा सरकार बन्ने र ढल्ने नहुने बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि कांग्रेस प्रवक्ता डा.महतले उक्त भनाई राखेका हुन्।
प्रचण्डको अभिव्यक्तिबारे राखिएको जिज्ञासा मेटाउँदै बैठकपछि प्रवक्ता महतले संचारकर्मीसँग भने, ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो । उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन।’
प्रवक्ता महतले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने पनि बताए । समन्वयको आवश्यकता रहने उनको भनाई छ।
प्रवक्ता महतले भने, ‘सबैको कुरा समेट्नपर्ने आवश्यकता छ । नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ। डेलिभरी गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौं।’












