Kathmandu Press

मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा गठन गरिएको कार्यदललाई १० दिनभित्र राय सुझाव पेस गर्न भनिएको छ। 
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं, वैशाख ३ : निजी मेडिकल कलेजमा एमबिबीएस र बिडिएसको सिट सङ्ख्या तथा शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरिएको छ। 

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १८औं बैठकले कार्यदल गठन गरेको हो। 

Hardik ivf

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा गठन गरिएको कार्यदललाई १० दिनभित्र राय सुझाव पेस गर्न भनिएको छ। 

कार्यदलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षा शास्त्र संकायका डीन डा. मोहन शर्मा, काठमाडौं विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र संकायका डीन डा. मनोज हुमागाईं, विज्ञहरू डा. भगवान कोइराला, डा. रमेशकान्त अधिकारी, डा. दिव्यासिंह शाह, डा. मंगल रावल, नेपाल मेडिकल कलेजका अध्यक्ष डा. अनिल कार्की र एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र कार्की सदस्य छन्।

एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन कठिनाइ हुने विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो । विद्यार्थीहरूले उक्त भत्ता नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले बौठक बोलाएका हुन्। 

सिट सङ्ख्या र शुल्क वृद्धिका विषयमा कार्यदलले अध्ययन गरी सुझाव पेस गरेपछि निजी मेडिकल कलेजले सोही अनुसार आयोगबाट तोकिएको निर्वाह भत्ता दिनुपर्ने र विद्यार्थी भर्नासम्बन्धी ‘म्याचिङ’ सुरु हुनेछ। आयोगको अर्को बैठक यही वैशाख १५ गते बस्ने छ।

प्रकाशित मिति: १६:५० बजे, बुधबार, वैशाख ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्