बलात्कार मुद्दामा सफाईपछि न्यायाधीश गिरी जेलमुक्त
आइतबार उच्च अदालत पाटनले अभियोगबनट सफाइ हुने फैसला सुनाएको थियो फैसलापछि गिरी छुटेका छन्।
काठमाडौं, वैशाख १ : बलात्कार मुद्दामा सफाई पाएका न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन्।
गिरी जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका थिए । त्यसपछि उनलाई डिल्लीबजार कारागारमा राखिएको थियो। आइतबार उच्च अदालत पाटनले अभियोगबनट सफाइ हुने फैसला सुनाएको थियो फैसलापछि गिरी छुटेका छन्।
गिरीकी पूर्वपत्नी आरती रावलले उनीविरुद्ध वैवाहिक बलात्कार र बलात्कार कसुरमा दिएको जाहेरीका आधारमा मुद्दा दायर भएको थियो । २०७९ मंसिरमा रावलले गिरीविरुद्ध कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा मुद्दा चलाइएको थियो।
वैवाहिक बलात्कारसँगै जबरजस्ती करणी गरेको आरोप समेत रावलले लगाएको थियो। जिल्ला अदालत काठमाडौँले २०८१ जेठमा गिरीलाई दोषी ठहर गर्दै ७ वर्ष कैद र तीन लाख जरिवानासहित थुनामा पठाउन आदेश गरेको थियो।
त्यसविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। जिल्लाले गरेको आदेशमा कैद सजाय कम भएको दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पनि सजाय थपको मागसहित उच्चमा पुनरावेदन दिएको थियो।
‘वारदातको समयमा सोही फल्याटमा रहेकी जाहेरवालाको बहिनीलाई अनुसन्धानको क्रममा बुझ्ने कार्यसम्म भएको देखिँदैन सोही घरको घरधनीको मौकाको कागजमा वारदात समयमा जाहेरवाला र प्रतिवादीबिच झै–झगडा भएको भन्ने देखिँदैन। मिसिल संलग्न घटना स्थल मुचुल्कामा संघर्ष वा झैझगडा भएकोमा देखिने वा हुन सक्ने लक्षण वा वस्तुस्थिति रहेको पाइँदैन,’ उच्च अदालतको फैसलामा उल्लेख छ, ‘जाहेरवालाले शारीरिक परीक्षणका क्रममा यौनाङ्गमा दुखाइ रहेको भनेता पनि निजको यौनाङ्गलगायत शरीरका अन्य भागहरूमा तत्कालको कुनै चोट पटक रहे/भएको भन्नेसमेत परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिँदैन । साथै मिसिल संलग्न प्रयोगशाला परीक्षण प्रतिवेदन समेतबाट निजहरूबिच शारीरिक सम्बन्ध भएको देखिने कुनै तथ्य स्थापित हुन सकेको पाइँदैन।’
उमेर पुगेका व्यक्तिहरूबिच हुने शारीरिक सम्बन्धलाई स्वतः जबरजस्तीकरणीको कसुर भन्न नमिल्ने फैसलामा उल्लेख छ। यस्तो अवस्थामा जबरजस्ती करणी जस्तो फौजदारी कसुर स्थापित हुनलाई सोहीबमोजिम न्यायिक दृष्टिकोणबाट हेरिनुपर्ने ठहर उच्चको छ।