Kathmandu Press

वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको भ्रष्टाचारमा फैसला कार्यान्वयन

वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको बिषयमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गरिएको छ। 
वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको भ्रष्टाचारमा फैसला कार्यान्वयन

काठमाडौं, चैत ३१ : वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको बिषयमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गरिएको छ। 

सरकारले जग्गा, सेयर र नगद जफत गरेको छ। चतुर्वेदी विरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले २०६८ भदौ २१ गते अन्तिम फैसला गरेको थियो।

फैसला वमोजिम चतुर्वेदीको जग्गा, सेयर र नगद जफत गरिएको छ। तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले चतुर्वेदीलाई भ्रष्टाचारी ठहर गर्दै १ करोड ३९ लाख जरिबाना, विभिन्न चल/अचल सम्पत्तिको जफत र डेढ वर्ष कैद हुने फैसला गरेको थियो।

Hardik ivf

उक्त फैसला बमोजिम गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले कार्यान्वयन गरेको हो। चतुर्वेदी उनको परिवारका सदस्यको बैंक खातामा रहेको नगद, विभिन्न कम्पनीका सेयर र जग्गा जफत गरिएको छ।

फैसलामा चतुर्वेदीको नगद सम्पत्तिमध्येबाट ७७ लाख ५९ हजार ८ सय ३८ रुपैयाँको स्रोत नखुलेको ठहर गरिएको थियो। यता, चतुर्वेदीको नेपाल मेडिकल कलेज काठमाडौँमा रहेको ३० हजार कित्ता सेयर, शिखर पेन्ट्स काठमाडौँमा रहेको पाँच हजार कित्ता सेयर र छोरा अभिषेकको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा रहेको ३० हजार कित्ता सेयर समेत जफत गरेको छ। 

काठमाडौं कोटेश्वरमा रितेज चतुर्वेदी र दिपेन्द्र टण्डनको संयुक्त नाममा रहेको कित्ता नं. ६५ को २ रोपनी ९ आना १ पैसा ३ दाम र कोटेश्वरकै कित्ता नं. ७९१ को २ आना १ पैसा जमिनमध्ये उनको भागमा पर्ने आधा जमिन जफत गरी कसुरजन्य सम्पत्ति विभाग/सरकारको नाममा नामसारी गरेर लालपुर्जा ल्याइसकिएको विभागले जनाएको छ।

विभागले चतुर्वेदीको एसबीआई बैंकमा रहेको ५७ हजार ६६२ रूपैयाँ ६५ पैसा, नेपाल बैंक लिमिटेडमा रहेको ३२ हजार १२७ रूपैयाँ ३४ पैसा जफत गरेको छ। साथै, उनकी श्रीमती आशाको नाममा नेपाल बैंक लिमिटेड काठमाडौँमा रहेको ३९ हजार २४१ रूपैयाँ २६ पैसा र हिमालयन बैंक लिमिटेड वीरगञ्जमा रहेको खातामा रहेको ७४ हजार ९६१ रूपैयाँ ३६ पैसा समेत जफत गरिएको छ। 
चतुर्वेदीकी छोरी अदितीको एभरेष्ट बैंक लिमिटेड, न्युरोडको खातामा रहेको १० लाख रूपैयाँ र छोरा अभिषेकको कृषि विकास बैंक लिमिटेड रहेको खाताको ५० हजार १०८ रूपैयाँ २४ पैसा पनि सम्पत्ति व्यवस्थापन विभागले जफत गरेको छ।

भ्रष्टाचार मुद्दा दायर गरेपछि रोक्का भई बैंक खातामा भएका रकमको ब्याज पनि जफत गरिएको छ। 

 

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, चैत ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्