सबै नेता उस्तै भन्नु गलत हो : अध्यक्ष दाहाल
‘जसरी सबै नेता उस्तै भन्ने छ त्यो गलत छ भन्ने मेरो भनाई हो। मान्छेहरुले यस्तो किन भन्छन्,’ उनले भने।
काठमाडौं, चैत ३० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै नेता उस्तै भन्नु भाष्य गलत भएको बताएका छन्।
शनिवार वर्तमान परिवेशमा कुरा गर्दै उनले भष्ट्रचारका विरुद्ध अभियान चलाउने सरकार र भष्ट्रचारीलाई बचाउनका लागि सम्पूर्ण चिज गर्ने सरकार उस्तै भन्नु गलत र अवैज्ञानिक रहेको बताए।
‘जसरी सबै नेता उस्तै भन्ने छ त्यो गलत छ भन्ने मेरो भनाई हो। मान्छेहरुले यस्तो किन भन्छन्,’ उनले भने।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दास्रो पटकमा लोडसेडिङ्गको अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए।
‘म सुशासन, सामाजिक न्याय र समृद्धि भनेर भष्ट्रचारका विरुद्ध यत्रो अभियान चलाउने पनि उस्तै। भष्ट्रचारीलाई बचाउनको लागि सम्पूर्ण चिज गर्ने पनि उस्तै भन्ने भाष्य जो बनाइएको छ। मान्छेले भन्ने गरेका छन् नेतातन्त्र, तीन जना नेता भन्नेगरेका छन् यो नै वैज्ञानिक छैन,’ उनले भने, ‘कुन नेता कति राम्रो कति नराम्रो हरेकको अलग अलग छानविन हुनुपर्यो । गम्भिर नागरिक, बुद्धिजिवीहरुले सबैको गुण दोषको आधारमा गर्नुपर्ने ठाउँमा सबैलाई एउटै डालोमा हाल्नु अवैज्ञानिक छ।’
उनले ऐतिहासिक रेकर्ड बनाउने सरकार र रेकर्ड भत्काउने सरकार उस्तै नहुने बताए।