वैदेशिक लगानी भित्र्याउन सरकार आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्दै छ : मन्त्री राणा
आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखामार्फत काम सुरु भएको पनि उनले बताएकी छन् ।-1722422302.jpg)
काठमाडौं, चैत २८ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालमा लगानीका अधिक सम्भावनाहरू रहेको बताउँदै वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने बताएकी छन्।
आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखामार्फत काम सुरु भएको पनि उनले बताएकी छन् ।
मन्त्री डा.राणाले नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारणसभाका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी दिएकी हुन् । साथै मन्त्री राणाले नेपालमा लगानीका अधिक सम्भावनाहरू रहेकाले वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने पनि बताइन् ।
मन्त्री डा. राणाले भनिन्, ‘हालसालै बैंककमा आयोजित बिमस्टेक सम्मेलन होस् या यसअघि प्रधानमन्त्रीज्यूको चीन भ्रमणका क्रममा होस् । नेपालको निजी क्षेत्रले त्यहाँका उद्योगी व्यवसायीहरूसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा म पनि सहभागी थिएँ । उहाँहरू नेपालमा लगानीका लागि इच्छुक रहेको मैले पाएँ । उहाँहरूलाई नेपालमा आकर्षित गर्न हामी सबै लाग्नुपर्दछ ।’
उनले नेपालमा ऊर्जा, पर्यटन, पर्यटकीय पूर्वाधार निर्माण, सूचना प्रविधि आदि क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेकाले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी आकर्षित गर्ने काममा कार्यरत रहेको समेत बताइन् ।
‘त्यसमा निजी क्षेत्रको पनि सक्रिय साथ र सहयोग आवश्यक रहेको छ,’ मन्त्री राणाले भनिन् ।
अर्को एक प्रसङगमा उनले नेपालमा वैदेशिक सहायता आउने क्रम घट्दो अवस्थामा रहेको पनि बताइन् । मुलुकको अर्थतन्त्रलाई सबल, सक्षम बनाएर समृद्ध नेपालको सपना साकार पार्न लगानीकर्ताहरूलाई उत्साहित गर्नुपर्नेमा उनको जोड थियो । यस्का लागि उद्यम व्यवसायको प्रवर्धनमा लाग्नुपर्ने अवस्था रहेको धारणा उनको छ ।
परराष्ट्र मन्त्री राणाले भनिन्, ‘निजी क्षेत्र बलियो भए मात्र मुलुक र सरकार बलियो हुन्छ । वर्तमान सरकार देशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यको पक्षमा रहेको छ । सबै नेपाली आर्थिक विकास र प्रगतिका आकांक्षी हौँ । ती आकांक्षाहरु निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्र हासिल गर्न सकिन्छ । त्यसैले सरकार निजी क्षेत्रसँगको सहकार्यको पक्षमा छ ।’