Kathmandu Press

चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११:३० बजे उडान हुनेछ।
चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

काठमाडौं, चैत २८ : चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ। एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौं–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ।

कम्पनीका अनुसार काठमाडौं–ग्वाङ्झाउ दैनिक राति ११:३० बजे उडान हुनेछ।

साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौं ग्वाङ्झाउका लागि दिउँसो १२:५० बजे उडान हुने छ ।

'अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छभने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुने छ । साथै सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्,' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चाइना साउदर्नले उक्त अवधिमा उल्लेखनीय रूपमा सिट सङ्ख्या बढाउने योजनासमेत बनाएको छ।

काठमाडौं–ग्वाङ्झाउतर्फ करिब ४५ हजार सिट र ग्वाङ्झाउ–काठमाडौं ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइने छन्।

कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौं–ग्वाङ्झाउमा १६ दशमलव पाँच प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वाङ्झाउ–काठमाडौंमा १३ हजार अर्थात् ३९ दशमलव नौले बढी हो।

उडान र सिट सङ्ख्यामा भएको वृद्धिले चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पुर्याउने एयरलाइन्सको अपेक्षा छ ।

'यो उडान क्षमता वृद्धि चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको हो, चाइना साउदर्नले सधैँ दुई देशबीचको पारस्परिक सम्बन्धलाई प्रवर्द्धनमा प्रतिबद्ध रहँदै आएको छ, जसले दुई देशका जनतालाई अझ सहज, सुविधाजनक र कुशल हवाई यात्रा अनुभव प्रदान गर्दै आएको छ।

यसले नेपाल पर्यटन उद्योगको विकासमा योगदान पुर्याउनुका साथै, चीन–नेपाल मित्रता अझ प्रगाढ बनाउनेछ,' कम्पनीले भनेको छ।

प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, चैत २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्