Kathmandu Press

तीनकुने घटनाको छानबिन माग गर्दै पत्रकार महासंघले गर्‍यो आन्दोलन घोषणा

महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी महासंघले आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ।
तीनकुने घटनाको छानबिन माग गर्दै पत्रकार महासंघले गर्‍यो आन्दोलन घोषणा

काठमाडौं, चैत २६ : गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र पत्रकार सुरेश रजकको हत्याका घटना प्रकरणमा सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रने निर्णय नेपाल पत्रकार महासंघले गरेको छ। 

महासंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी महासंघले आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ।

महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले आफ्ना माग पूरा गराउन सरकारलाई थप दबाब दिनुपर्ने अवस्था सिर्जना भएको निर्क्योल गरेको छ।

Hardik ivf

महासंघले तीनकुने घटनाका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सात दिनभित्र प्रेस स्वतन्त्रता हनन्मा संलग्नहरूमाथि कानुनी कारबाही गर्न माग गरेको छ । उक्त समयावधिभित्र सरकारले महासंघका माग सम्बोधन नगरे देशब्यापी आन्दोलनको घोषणा गर्ने समेत महासंघले चेतावनी दिएको छ ।

साथै, रजकका परिवार र क्षति पुगेका सञ्चारगृहलाई यथोचित क्षतिपूर्ति दिन पनि माग गरेको छ। यस्तै, घाइते पत्रकारको निःशुल्क उपचारका लागि पनि माग गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेश विज्ञप्तिमासरकारले हालसम्म महासंघको माग पूरा नगरेकोप्रति महासंघ गम्भीर भएको जनाइएको छ।

महासंघले सरकारलाई दिएको सात दिने अल्टिमेटम यही चैत २५ गते सकिँदै छ । महासंघका उपाध्यक्ष उमिद बागचन्दको अध्यक्षतामा उपलब्ध केन्द्रीय समितिको बैठक बसेको थियो। 

यी हुन् महासंघका निर्णय 

१) दिवंगत पत्रकार सुरेश रजकप्रति शोक व्यक्त गर्न केन्द्रीय समितिले चैत २७ गते बुधबार काठमाडौँको माइतीघर मण्डलामा साँझ ६ बजे दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गर्ने उपत्यका बाहिरका जिल्ला शाखाहरूलाई यही प्रकृतिको कार्यक्रम गर्न निर्देशन दिने।

२) चैत २९ गते शुक्रबार रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाउने । प्रदेश समिति र शाखाहरूले पनि सोहीबमोजिम गर्ने ।

३) चैत ३१ गते सरकारलाई ‘नेपाल पत्रकार महासंघले यही चैत १८ गते प्रस्तुत गरेका माग पुरा गर’ भन्ने सन्देश विभिन्न माध्यमबाट गृहमन्त्रीसमक्ष पठाउन देशभरका पत्रकारहरूलाई आह्वान गर्ने ।

४) तीनकुनेमा भएको प्रेस विरोधी गतिविधिलाई लिएर २०८२ वैशाख २ गते सम्पादकहरूसँग छलफल गर्ने ।

५) वैशाख ४ गते सञ्चारगृहका सञ्चालक आबद्ध रहेका प्रमुख संस्थाहरूसँग छलफल गर्ने ।

६) वैशाख ६ गते महासंघका पूर्व सभापति/अध्यक्षहरूसँग छलफल गर्ने । प्रदेश र जिल्ला शाखाले पूर्व सभापति÷अध्यक्षसहित अग्रज पत्रकारहरूसँग छलफल गर्ने ।

प्रकाशित मिति: १९:५० बजे, मंगलबार, चैत २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्