सेनिटरी प्याडमा भ्रष्टाचार: उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पाँच जनाविरुद्ध मुद्दा

काठमाडौं, चैत २६ : सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको दाबीसहित बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवालसहित पाँच जनाविरुद्ध मुद्दा चलाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भ्रष्टाचारको आरोपमा मुद्दा दाय गरेको हो।
आयोगले प्रमुख प्रशासकीय अधिकृत वर्णवाल, उपमहानगरपालिकाका शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफमाथि सजायकोमाग राखेर मुद्दा दर्ता गरेको हो।
अख्तियारका अनुसार उपमहानगरपालिकाका कर्मचारीले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा सागर वी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहसँगको मिलोमतोमा भ्रष्टाचार भएको दाबी अभियोगपत्रमा गरिएको छ।
सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी २०७७ मंसिर १९ को टिप्पणी निर्णयबाट सेनिटरी प्याड खरिद गरिएको दाबी अख्तियारले गरेको छ। छानविनबाट सेनिटरी प्याडको अस्वाभाविक मूल्य प्रतिप्याकेट ७९ रुपैयाँ एक पैसा कायम गरी लागत इस्टिमेट स्वीकृत गराएको पाइएको छ।
अख्तियारका अनुसार आपसी मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्मको बोलपत्र पेश गरिएको छ। साथै, प्रतिप्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी ठेक्का दिएकोमा आर्थिक वर्ष २०७८/०७९ मा त्यसै कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट २४ रुपैयाँमा खरिद गरेको भेटिएको छ।
अभियोगपत्रमा पछिल्लो वर्षभन्दा अघिल्लो वर्ष प्रतिप्याकेट ५४ रुपैयाँका दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० भन्दा बढी भुक्तानी गरेको भन्दै उपमहानगरपालिकामा कार्यरत ४ चना कर्मचारीलाई ५१ लाख ९९ हजार १२० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय मागदाबी अख्तियारले गरेको छ।
यस्तै, सागरदेवी फर्मा हेटौंडा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहले कर्मचारीसँगको मिलोमतोमा सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट ५४ रुपैयाँको दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी लिएको दाबी समेत अख्तियारको छ।
सबै अभियुक्तलाई विगो बराबरको रकम कायम गरी भ्रष्टाचार निवारण, ऐन, २०५९ अनुरुप सजाय मागदाबी गरिएको छ।












