Kathmandu Press

संघीय संसद्को समितिद्वारा सुझाव सङ्कलन

उनले स्पष्ट, दीर्घकालीन र व्यापारमैत्री नीति नहुँदा व्यवसायमा कठिनाइ भएको बताए।
संघीय संसद्को समितिद्वारा सुझाव सङ्कलन

झापा, चैत २५ :  संघीय  संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाका सुझाव संकलन गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा आज आयोजित अन्तरक्रियामा समितिका सदस्य लालप्रसाद साँवा लिम्बू नेतृत्वको टोलीले उद्योग, व्यापार, श्रम, रोजगारी, उपभोक्ता अधिकारसँग सम्बन्धित विषयमा छलफल गरेको हो।

छलफलमा चिया व्यवसायी आदित्य पराजुलीले नेपालबाट भारतर्फ चिया निर्यात गर्दा बारम्बार अवरोध उत्पन्न हुने गरेको गुनासो गरे।

Hardik ivf

उनले स्पष्ट, दीर्घकालीन र व्यापारमैत्री नीति नहुँदा व्यवसायमा कठिनाइ भएको बताए।

'अर्बौँको कारोबार हुने चिया निर्यातलाई सरल र सहज बनाउन सरकारले दिगो नीति ल्याउनुपर्छ, उनले भने।

उपभोक्ता जागरण अभियन्ता शालिग्राम भट्टराईले सुपारी निर्यातमा रोक लगाउनु किसान र व्यावसायी दुवैका लागि लाभदायी नभएको बताए।

'सुपारीको डिएनए परीक्षण गर्नुपर्ने भन्दै मन्त्रलायले निर्यात रोक्दा हामीले न्यून मूल्यमा सुपारी बिक्री गर्न बाध्य भयौं,' उनले गुनासो गरे।

नारी सञ्चारगृहकी पूर्वअध्यक्ष सावित्रा दाहालले झापाका उद्योगहरू भारतीय श्रमिकमा निर्भर हुने अवस्थालाई कम गरी नेपाली श्रमिकलाई रोजगारीको अवसर दिनुपर्ने बताइन्।

उनले नेपाली श्रमिकलाई यहाँका उद्योगमा काम गर्ने वातावरण बनाउन समितिका सदस्यहरूलाई आग्रह गरिन्।

कार्यक्रमका सहभागीले बजार अनुगमन नियमित नहुनु उपभोक्ताका लागि समस्या भएको बताएका थिए। गुणस्तरहीन, म्याद नाघेका तथा अखाद्य वस्तु खुलेआम बिक्री वितरण भइरहेकाले उपभोक्ताको स्वास्थ्यमा खतरा रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा प्राप्त सुझावप्रति गम्भीर ध्यानाकर्षण भएको समितिका सदस्य लिम्बूले बताए। 'हामी नीतिगत तहमा यी समस्या समाधानतर्फ गम्भीर छौँ,' उनले भने। समितिका सदस्य सांसद लिम्बूसँगै, डोलप्रसाद अर्याल, कान्तिका सेजुवाल, रुक्मणी राना बराइली र सीता मिजारको उपस्थिति थियो।

प्रकाशित मिति: २१:२९ बजे, सोमबार, चैत २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्