वायुप्रदुषणको कारण दर्शाउँदै राजमोले संघीयता खारेजी आन्दोलन छोट्यायो
राजमोले राजधानी केन्द्रित आन्दोलनको समापन चैत्र २८ गते गर्ने भएको छ।
काठमाडौं, चैत २५ : राष्ट्रिय जनमोर्चा (राजमो) ले वायु प्रदुषणको कारण दर्शाउँदै संघीयता खारेजी अभियानको आन्दोलन अवधि छोट्याएको छ।
चित्र बहादुर केसी नेतृत्वको राजमोले सोमबार एक प्रेस विज्ञप्तिमार्फ पार्टीले आन्दोलनको अवधि छोट्याइएको जानकारी गराएको हो। चैत २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलनको घोषणा गरिएको थियो।
विज्ञप्तिमा पछिल्लो समय काठमाडौँ विश्वकै प्रदुषित सहर मध्ये पहिलो स्थानमा पुगेको तथ्याङ्कहरु सार्वजनिक भइरहेकोले दिनप्रति दिन थप प्रदुषण बढिरहेकोतर्फ ध्यान दिँदै संघीयता खारेजी अभियानको आन्दोलन अवधि छोट्याइएको जनाइएको छ।
राजमोको सोमबार बसेको बैठकपछि अध्यक्ष केसीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा बढ्दो प्रदुषणकाबीच सप्ताहव्यापी आन्दोलनलाई सञ्चालन गर्दा कैयौँ स्वास्थ्यसँग सम्बन्धी जटिलताहरु उत्पन्न हुने खतरा देखिएको कुरालाई मध्यनजर गर्दै राष्ट्रिय जनमोर्चाले आन्दोलनको अवधि २ दिन घटाएर ५ दिनमात्र कायम राख्ने निर्णय गरेको जानकारी दिइएको छ।
राजमोले राजधानी केन्द्रित आन्दोलनको समापन चैत्र २८ गते गर्ने भएको छ।
राजमोले संघीयता विरुद्धको संघर्ष प्रादेशिक संरचना खारेज नभएसम्म जारी रहने समेत जनाएको छ। आन्दोलनरत शिक्षकहरुको मागमा समेत ऐक्यबद्धता जनाउने निर्णय गरिएको छ। चैत २४ गते आइतबारदेखि ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, सङ्घीयता खारेज गरौं’ भन्ने नारा सहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरिएको हो। तत्कालका लागि प्रदेश संरचना खारेजीको अभियान सहित आन्दोलनमा होमिएको जनमोर्चाले सङ्घीयता मुलुकका लागि अभिषाप भएको ठहर गरेको छ।
नेपाल जस्तो सानो, पिछडिएको, आर्थिक दृष्टिकोणले कमजोर मुलुकमा सङ्घीयता देश र जनताको हितमा नभएको ठहर राजमोको छ।
स्थानीय निकायहरूलाई थप सुदृढ र अधिकारसम्पन्न बनाउनुपर्ने आवश्यकतामा जनमोर्चाको माग छ। गणतन्त्र, राष्ट्रियताको रक्षा र सङ्घीयतालाई खारेज गर्नका लागि व्यापक रूपले एकतावद्ध हुन र सङ्घर्षमा उत्रन समेत जनमोर्चाले आग्रह समेत गरेको छ।












