भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा छैन : सभापति देउवा
सभापति देउवाले देउवाले राजावादीले आदित्यनाथको फोटो छापेर हिंडेको प्रसङ्ग उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नयाँ दिल्लीस्थित नेपाली दुतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको पनि बताए।
काठमाडौं, चैत २५ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको भनाई राखेका छन्।
गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा सभापति देउवाले उक्त भनाई राखेका हुन्। सभापति देउवाले नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको पनि बताए।
सभापति देउवाले देउवाले राजावादीले आदित्यनाथको फोटो छापेर हिंडेको प्रसङ्ग उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नयाँ दिल्लीस्थित नेपाली दुतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको पनि बताए।
देउवाले भने, ‘अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ । यहाँ आदित्यनाथको फोटो समेत छापियो । तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ, त्यहाँ गएर मेरो कुनै हात छैन । नेपाली जनताले जे चाह्यो त्यही हुन्छ । म राजा ल्याउने पक्षमा छैन भनेर आफैंले भन्नुभएको छ।’
नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको स्मरण पनि देउवाले गरे।
‘उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि धेरै ठूलो सहयोग गर्नुभएको छ, ठूलो योगदान छ । उबेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहँदैन भन्ने थियो। चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलापमा छैन भारत भन्ने पुष्टि भयो। त्यसपछि त हामीले ठूलो आन्दोलन गरेर गणतन्त्र समेत ल्यायौं,’ देउवाको भनाई थियो।
यस्तै, देउवाले गणतन्त्र स्थापना भएको धेरै नभएको बताउँदै राजनीतिक दलहरुले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको भनाई पनि राखे।