Kathmandu Press

सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैर जिम्मेवार : माओवादी

प्रवक्ता अग्निप्रसाद सापकोटाले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नेलगायत विभिन्न माग राखेर लामो समयदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ।
सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैर जिम्मेवार : माओवादी
फाइल तस्बिर।

काठमाडौं, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैरजिम्मेवार भएको पुष्टि भएको दाबी गरेको छ।

प्रवक्ता अग्निप्रसाद सापकोटाले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नेलगायत विभिन्न माग राखेर लामो समयदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ।

‘नेपाल शिक्षक महासंघसँग ५ बुँदे र ६ बुँदे सहमति भएको स्मरणीय छ। उक्त सहमति अनुरूप तर्जुमा भएको विधेयकलाई महत्त्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा कांग्रेस र एमालेको गठबन्धन सरकारले हजारौँ शिक्षक र लाखौँ विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलबाड गर्नु निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार गठन भएको दश महिनासम्म आन्दोलनरत शिक्षकहरूको जायज मागलाई बेवास्ता गरिनु, तर यही बीचमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेशमार्फत जारी गर्नसक्ने सरकारले अहिले शिक्षकहरूको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद भएको माओवादीको ठहर छ।’

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार र नेपाल शिक्षक महासंघबीच २०८० असोज ५ गते र १२ गतेको मितिमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न समेत पार्टीले माग गरेको छ।

शिक्षकहरूको माग सम्बोधन गर्नको लागि विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन पनि सरकारसहित सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ।

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, चैत २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्