अत्यधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित
धुँवा, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुँवालो लागेपछि उडान डिले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन्।
काठमाडौं, चैत २५ : अत्यधिक वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरुबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् । दर्जनौं उडान रद्द समेत भइरहेका छन्।
धुँवा, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुँवालो लागेपछि उडान डिले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन्। विमान कम्पनीहरुका अनुसार एक सातामा करित दुई सय बढी उडान रद्द भएका छन्।
सोमबार बिहान मात्रै बुद्ध एयरको पोखरा र भरतपुर उडान पनि प्रभावित भएको कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।
‘वायुप्रदूषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित हुन पुगको छ । सोमबार धेरै उडानहरु प्रभावित नै भएका छन् । सोमबार विहान मात्र पोखरा, भरतपुर उडान पनि प्रभावित भएको छ,’ उनले भने, ‘४ बजेसम्म पनि यस्तै अवस्था रह्यो भने सबै उडान रद्द हुने सम्भावना छ। यसरी उडानहरु प्रभावित हुँदा कम्पनीहरुलाई नोक्सान त हुने नै भयो।’
कर्णले काठमाडौं–तुम्लिङटार उडानको रुट रद्द भएको जानकारी दिए। उनले यसरी वायु प्रदूषणले हवाइ उडान प्रभावित हुँदा आउजाउ गर्ने यात्रुहरुले सास्ती व्यहोर्नुपरेको बताए।
मुख्य पर्यटकीय सिजनमै उडानहरू रद्द हुँदा आर्थिक क्षतिसँगै नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ। पर्यटकीय सिजनमा वायुसेवा अपरेटरहरुले पोखरा, जोमसोम र लुक्ला क्षेत्रका उडानबाट राम्रो आम्दानी गर्ने गर्छन्।
‘डलरफेयर’ मा आम्दानी गर्ने कम्पनीहरु यही बेला उडानहरू रद्द हुँदा वायुसेवा कम्पनीहरुको मुख्य आम्दानीको सिजनमा निराश हुनुपरेको छ।